ललितपुर,१७ साउन । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले भारतले नेपालमा कुनै भयावह षड्यन्त्र नरच्ने र नेपाललाई एक सार्वभौम,स्वतन्त्र र अखण्ड राष्ट्रको रुपमा समानताको आधारमा व्यवहार गर्ने बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहनु भएका नेता चौथाइवालाले नेपाल भारत मैत्री समाजद्धारा शुक्रबार राजधानीमा आयोजित ‘नेपाल-भारत सहयोग : संभावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उहाँले अगाडि भन्नुभयो, ‘म सरकारको अंग त होइन र सम्बन्धको आधारभूत सम्बल भनेकै आपसी विश्वास हो । यसले नै मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउछ ।’
नेपालमा भारतले दबाउछ भन्ने मानसिकता ब्याप्त रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भयावह षड्यन्त्र(डिजाइन)को कल्पना समेत गर्न सकिदैन, नेपाल एक सार्वभौमसत्ता सम्पन्न,स्वतन्त्र र अभिभाज्य राष्ट्र हो । यसैका आधारमा समानताको व्यवहार हुन्छ । देशमा कस्तो राजनीतिक र विकास पद्धति अबलम्बन गर्ने भन्ने कुरा तपाईहरुले निर्धारण गर्ने कुरा हो । हामी त्यसलाई सम्मान गर्दछौ । तपाईहरुको प्रयासलाई सहयोग गर्दछौ । कतिपय मुद्दाहरुमा हामी सहमत नहौला कतिपयमा सहमत हौला ।’
उहाँले भारतलाई सहयोगी मित्रको रुपमा लिन र हेप्छ भन्ने नजरबाट हेर्दै नहेर्न पनि आग्रह गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीत्वकालमा भारतलाई विश्वभर छरिएर रहेका भारतीय मूलका गैरआवासीय भारतीयहरुसंग जोेड्न जिम्मेवारी पाउनुभएका वीजेपी नेता चौथाईवालाले संसारभर रहेका भारतीयहरुले त्यहाँको त्यहाँको भाषा,संस्कृति,राजनीतिक पद्धतिको विकास योगदान गर्दै आफ्नो विशिष्ट पहिचान भएको बताउनुभयो ।
उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वैदेशिक सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै भन्नुभयो, ‘भारतले एशिया,अफ्रिकाका साना मुलुकहरुलाई पनि उत्तिकै महत्व दियो । मध्यपूर्वमा पहिलोपटक इजराइल,प्यालेष्टाइन र खाडी परिषद्का राष्ट्रहरुलाई एकसाथ भेट्ने साहस भारतका प्रधामन्त्री मोदीले गर्नुभयो । कुटनीतिक सम्बन्ध कायम भएका तर प्रधानमन्त्रीको तहमा दशकौंसम्म भ्रमण नभएका अफ्रिकाका देशमा भ्रमण भयो । सार्कका सबै राष्ट्रमा भ्रमण भयो । विशेष सम्बन्ध भएका जापान,चीन,अमेरिका र नेपाल जस्ता राष्ट्रहरुमा पटक पटक भ्रमण भयो । नेपालमा चारपटक भ्रमण गनुभयो ।’
उहाँले पहिलो कार्यकालको प्रारम्भमा छिमेकी पाकिस्तानसंगको सम्बन्ध सुधारमा भारतीय प्रधानमन्त्री मोदीले प्राथमिकता दिंदै भ्रमण समेत गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘पाकिस्तानको जमिनबाट आतंकवादको उदय भएपछि समस्या उत्पन्न भएको छ । सम्बन्ध सुधारका लागि पाकिस्तानले धेरैकुरा गर्नपर्दछ ।सार्कको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो,पार्टीको रुपमा पाकिस्तानसंगको सम्बन्ध हाम्रो वैचारिक प्राथमिकतामा पर्दैन । र पाकिस्तान सहितको सार्क भारतको निमित्त निकै कठिन प्रस्ताव हो ।’
उहाँले विश्व मानचित्रमा भारतको महत्व बढ्दै गएको उल्लेख गर्दै भन्नुभयो, ‘अहिले भारत विश्वका छैठौ वा सातौ ठूला अर्थतन्त्रमा पर्दछ । विश्वका आर्थिक शक्ति मुुलुकहरुको समूहमा जी २० मा भारत सबै ठूला शक्तिहरुको अभिन्न साझेदारको रुपमा रहन पुगेको उल्लेख गर्दै भन्नुभयो, ब्यूनस एरिस सम्मेलनका अवसरमा धेरै द्धिपक्षीय वार्ताहरु भए र त्यहाँ जम्मा दुईवटा त्रिपक्षीय वार्ता भए, दुवैमा भारत अभिन्न अंग रह्यो, अमेरिका-जापान समूह भन्नुस वा रुस-चीन समूह ।’
नेता चौथाइवालाले भारतमा हालै सम्पन्न निर्वाचनको परिणामका बारेमा पनि बोल्दै भन्नुभयो, ‘राष्ट्रिय सुरक्षा र आतंकवादका विरुद्धमा प्रधानमन्त्री मोदीको स्पष्ट अडान र प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको वीजेपीको सरकारले थालेका विकासले जनतालाई गरेको स्पर्स नै यसको कारण हो । अवस्था यस्तो आयो कि देशका १२ राज्यमा विपक्षीले एक स्थान पनि जित्न सकेन ।’
उहाँले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको दूरदर्शिता र संगठन निर्माणको सराहना गर्दै भन्नुभयो, ‘उहाँको अग्रसरतामा जसरी १० करोड कार्यकर्तालाई सदस्यता दिएर परिचालन गर्न सकियो, निर्वाचनको नतिजा त्यसैको देन हो ।’
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सानुभएको सवकासाथ सबका विकासको अवधारणा,नीति र कार्यक्रमले समानतामा आधारित भएर क्षेत्रीय विकासमा अगाडि बढ्ने मार्ग प्रशस्त गरेको बताउनुभयो । यसले नेपाल र भारत सम्बन्धलाई विश्वासको नयाँ उचाईमा पुर्याउन मद्त गरेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महतले नेपाल र भारतबीचको सम्बन्ध त्रेता र द्धापर युगदेखि नै एकापसमा आबद्ध रहेको उल्लेख गर्दै यसलाई शंकाले हैन विश्वासको आधारमा बढाउनु पर्ने बताउनुभयो । उहाँले नेपालको दुई तिहाई व्यापार भारतसंग हुने, तेस्रो मुलुकसंग हुने ९० प्रतिशत व्यापार पनि भारतीय भूमि भएर हुने, नेपालको विकासलाई सघाउने भारतका उद्योगपतिहरुले नेपालमा लगानी गर्न प्राथमिकता दिनुपर्ने, भारतसंग अर्बौको ब्यापार भएको चीनसंग भूगोल जोडिएको नाताले नेपालले कायम गर्ने सम्बन्धलाई शंकाको नजरले हेर्न नहुने,भारतीय सहयोगमा बन्ने विकास आयोजनाहरु समयमा सम्पन्न गर्न विशेष ध्यान दिनुपर्ने जस्ता विषय उठाउनुभएको थियो ।
उहाँले सन १९९०को दशकमा कोल्गेट पाल्मोलिभ,डाबर र यूनि लिभरसहितका केही कम्पनी आएपछि नेपालमा भारतको निजी क्षेत्रको लगानी नआएको, नेपाल र भारतबीच विद्युत व्यापार संझौता भएपछि अरुण र माथिल्लो कर्णाली आयोजना बन्ने मार्ग सहज भएपनि कामले गति लिन नसकेको,नेपाल र भारतकाबीचमा अझै केही सीमा विवाद कायम रहेको र प्रबुद्ध बर्गको प्रतिवेदनको कुरा पनि उठाउनुभएको थियो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द पोखरेलले नेपाल भारतसम्बन्धका विविध आयामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रममामा डा. सुन्दरमणि दीक्षित,पूर्व मन्त्री महेन्द्र यादव,पूर्वमन्त्री हिसिला यमी, विमल केडिया, ज्ञानेन्द्रलाल प्रधान, पूर्व सचिव पुरुषोत्तम ओझा,पूर्व राजदूत प्रद्युम्न शाह,पूर्व राजदूत डा. दुर्गेशमान सिंह,पूर्व राजदूत ज्ञानचन्द्र आचार्य लगायतले नेपाल भारत सम्बन्धका विभिन्न पक्षमा सुधार र विश्वास अभिबृद्धिका बारेमा आफ्ना विचार ब्यक्त गर्र्नुभएको थियो ।
कार्यक्रम नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीको सभापतित्वमा भएको थियो ।
वीजेपी नेता विजय चौथाइवालाको यो भ्रमणलाई निकट भविष्यमा हुने भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणको पूर्व तयारीको रुपमा लिइएको छ । नेता चौथाइवालाले भ्रमणको क्रममा विभिन्न राजनीतिक दलका नेताहरुसंग विभिन्न चरणमा भेट गरिसक्नु भएको छ ।