बुटबल (रुपन्देही), २१ पौष । देवदहका काष्ठ व्यवसायी बसन्त पौडेलको हत्याको जिम्मेवारी मनोज पुनले लिएका छन् ।
एमाले क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेलका छोरा बसन्तको हत्या पछि बुटबलका पत्रकारहरुलाई फोन गरि यसको जिम्मेवारी मनोज पुनले लिएका हुन । उनले आफू अहिले मलेशियामा रहेको बताएका छन् ।
४० वर्षीय बसन्त गत बर्ष सोही समूहले हत्या गरेका दुर्गा तिवारीका साथी पनि हुन् ।
पौडेल हत्याको कारण खोल्दै मनोजले दुर्गा तिवारी हत्याकाण्डमा आफ्नो समूहलाई बसन्त पौडेलले अनाबश्यक दुःख दिएर फसाएकोले त्यसको वदला लिएको दावी गरेका छन् ।
केही महिना पूर्व निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि मनोज पुन समूहको संलग्नता देखिएको प्रहरीले बताएको थियो ।
काठको अर्डर छ भन्दै मोटरसाइकलमा आएका दुई जनाले शुक्रबार विहानै बसन्त पौडेलको हत्या गरेका थिए । बिहान देवदहस्थित फर्निचर उद्योगमा आगो तापिरहेका उनले आफूमाथि कसैले यसरी अप्रत्यासित तवरले गोली चलाउला भन्ने कल्पना पनि गरेका थिएनन् ।
छाती र टाउकोमा गोली लागेर ढलेका बसन्तलाई तत्काल लुम्बिनी अञ्चल अस्पताल पुर्याइयो । तर बाटोमा नै उनले प्राण त्यागिसकेका थिए ।
देबदह तनावग्रस्त
युुवासंघका सक्रिय कार्यकर्ता बसन्तको हत्यापछि यसको छानवीन र हत्यारालाई कारबाहीको माग गर्दै एमालेको भातृसंगठन प्रजातान्त्रिक राष्ट्र्यि युवा संघ रुपन्देहीले आन्दोलन थालेको छ । संघले शुक्रबार नै बुटवलमा २ घण्टा चक्काजाम गरेको थियो ।