Prakash Adhikari January 6, 2018

पोखरा(कास्की) २२ पौष । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उपाधि पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी बलको विभागीय टिमले जितेका छन् ।

१८ औं पुरुष ह्याण्डबल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

राष्ट्रिय खेलाडी बिशाल बस्नेतको कप्तानिमा मैदानमा उत्रिएको पश्चिमाञ्चलले घरेलु मैदानमा दर्शकहरुको साथ पाउदा उत्कृष्ट प्रदर्शन गरेको थियो । पश्चिमाञ्चलका हेमन्त थापा प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी पुरुषतर्फ तेश्रो स्थानको लागि भएको खेलमा विभागीय टोली एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगितामा नेपाल आर्मी अनुसाशित टिम घोषित भएको छ ।

प्रतियोगितामा एपिएफका दिपकसिंह बोहराले सेमिफाईनल र तेश्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

महिलाको उपाधि सशस्त्रलाई

दर्शकहरुको उल्लेखनिय सहभागितामाझ शनिबार पोखरा रंगशालामा सम्पन्न भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितातर्फको फाईनल खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

महिलातर्फ तेश्रो स्थानको लागि भएको खेलमा पूर्वाञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको थियो ।

विजेतालाई जनही ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई जनही १० हजार साथमा ट्रफी मेडल प्रमाणपत्र वितरण गरिएको हो ।

दुई विभागीय सहित ७ टीम सहभागी भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुशासित टीम घोषित भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई भईन । उनले फाईनल खेलमा ८ गोलको योगदान दिईन ।

प्रतियोगिताको सेमिफाईनल र फाईनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोलकर्ताको उपाधि जितिन ।

विराटनगरमा भएको सातौैं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफले उपाधि जितेका थिए ।

नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना, हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मुख्य प्रायोजनमा पौष १९ गतेबाट उक्त प्रतियोगिता पोखरामा संचालन भएको संघका सचिव केशव पाठकले बताए ।

विजयी खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारी, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज गुरुङ, संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङलगायतले वितरण गरेका थिए ।

प्रतियोगिताको फाईनल खेलमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको संघले दाबी गरेको छ ।

Share Now

Leave a comment.