कोलम्बो(श्रीलंका), १९ भाद्र । एशियाली राष्ट्रहरुका बीचमा हुने क्रिकेट खेल अन्तरगतको १९ बर्षमुनिका उमेर समूहका खेलाडीहरुको टी २० प्रतियोगिता (यु १९ एशिया कप) आजदेखि श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।
यस प्रतियोगिता अन्तरगत नेपालले शुक्रबार (सेप्टेम्बर ६ )मा आयोजक श्रीलंकासंग पहिलो खेल खेल्दैछ।
प्रतियोगिताका उद्घाटन खेलहरु आज हुँदैछन् । जसमा एकै समयमा(स्थानीय समय अनुसार बिहान १०ः१५मा भारत र कुवेत तथा पाकिस्तान र अफगानिस्तानबीच खेलहरु हुँदैछन् ।

नेपालमा बर्षाको कारणले अभ्यास खेलहरु खेल्न नपाएको हुनाले प्रतियोगिता सुरु हुनु १० दिन अघि आयोजना स्थल पुगेको नेपाली टिमले स्थानीय क्लबहरुसंग ३ वटा अभ्यास खेल खेलिसकेको छ र त्यसपछिको समय आन्तरिक अभ्यासमा लगाएको छ ।
नेपाली टीमले ३ वटा अभ्यास खेल मध्ये एउटा खेलमा विजय हासिल गरेको थियो भने २ वटा खेलमा युवा टिम पराजयको सामना गर्न पुग्यो।
एशियाका टेष्ट राष्ट्रका टीमहरु समेत संलग्न रहने यो प्रतियोगिता आफैमा निकै चुनौतिपूर्ण छ । नेपालले सन् २०१७ को यु १९ एसिया कपमा भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनल प्रवेश गरेको थियो।
अघिल्लो वर्ष २०१८ नेपालले पहिलो चरण नै पार गर्न सकेन । २०१७ पहिले पनि नेपालको अवस्था त्यस्तै रह्यो । नेपालले यस पटक टेष्ट राष्ट्रलाई पराजित गरी सेमीफाइनल पुग्ने राखेको छ ।

प्रतियोगितामा नेपालको समुह ‘बि’ मा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, पाकिस्तान , अफगानिस्तान र कुवेत रहेका छन्।
श्रीलंकासंग सेप्टेम्बर ५ मा पहिलो खेल खेलेपछि नेपालले दोश्रो खेल सेप्टेम्बर ८ मा बंगलादेशसंग तथा तेश्रो खेल सेप्टेम्बर १० मा युएईसंग खेल्नेछ।
समूह चरणको खेल पछि दुवै समूहबाट उत्कृष्ट हुने दुई दुई टीम सेमीफाइनल प्रवेश गर्नेछन्।


















