कारालोक(किर्गिस्तान),२२ भाद्र। नडेदा कप महिला फुटबल च्याम्पियनसीप खेल्न किर्गिस्तान पुगेको नेपाली महिला फुटबल टोलीले पहिलो खेलमा शानदार जित हासिल गरेको छ ।
किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालको जितमा स्टार स्ट्राइकर साबित्रा भण्डारी एक्लैले आधा अर्थात ४ गोल गरिन । उनले खेलको तेस्रो, १५औं, ३० औं र ५४औं मिनटमा गोल गरेकी थिइन ।

त्यस्तै अनिता बस्नेतले दुई गोल २४ औ र ८९औं मिनटमा गरि दुई गोल गरिन । त्यसैगरी दीपा राईले २५औं तथा निरु थापाले ३७औं मिनटमा गोल गरेका थिए ।
आयोजक किर्गिस्तानका लागि १९औं मिनटमा बोरोनबेकोवा तथा २२औं मिनटमा सस्किभा आइपेरीले एक एक गोल गरेका थिए । फिफा वरियतामा नेपाल १०६औं स्थानमा छ भने किर्गिस्तानको वरियता निर्धारण भएको छैन् ।
नेपालले आफ्नो दोस्रो खेल सोमबार उज्बेकिस्तानसँग खेल्नेछ । प्रतियोगितामा नेपाल, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान सहभागी रहेका छन् ।


















