Prakash Adhikari September 15, 2019

काठमाडौं, २९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ गते आफ्नो क्याबिनेटमा प्रवेश गराउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कार्य क्षमतामा डेढमहिना नपुग्दै प्रश्नचिन्ह उठ्न थालेका छन् ।

 

उहाँ सबैभन्दा पछिल्लोपटक नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजलाई एक घण्टा कुराएको विवादमा पर्नुभएको छ । शनिवार नेपालगञ्जबाट काठमाडांैं आउने बुद्ध एअरको जहाज चढेका यात्रुहरूले आफूहरुलाई अनावश्यक रुपमा एक घण्टा कुराएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका थिए ।

 

बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६ः२५ मा उड्ने तालिका थियो। तर मन्त्रीको कारण उडान बिलम्बित भएपछि यात्रुहरुले आक्रोशित हुँदै उहाँलाई तपाईंप्रति हाम्रो विश्वास थियो। प्रधानमन्त्री आउँदा पनि हामीले नै दुःख पाउने। आश गरिएका युवा मन्त्री आउँदा पनि हामीले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो भन्दै प्रश्न गरेका थिए ।

मन्त्री भट्टराईले भने आफू कैलालीको टिकापुरमा डल्फिन महोत्सवमा गएको र धनगढीको प्लेन छुटेकोले नेपालगञ्ज भएर आउन केही बिलम्ब भएको प्रतिक्रिया दिनुभएको छ ।


यस अगावै मन्त्री भट्टराई एअरलाइन्स अपरेटरहरुसंग परामर्श नगरी ७० माथिका ज्येष्ठ नागरिकलाई आधा भाडा छुट दिने निर्णय गर्दा र पशुपतिको सन्ध्या आरती पहिले राष्टिय गान सुरु गर्र्ने निर्णय गर्दा विवादमा पर्नुभएको थियो । उहाँले दुवै निर्णय फेसवुक अर्थात सामाजिक सञ्जालबाट प्राप्त सुझावलाई मनन गरि गरिएको बताएर नेपाल सरकारको कार्यशैली, कार्य प्रक्रिया, निर्णय क्षमतामा पनि प्रश्न लाग्ने अवस्था सिर्जना गर्नुभएको छ । संसदमा सत्तारुढ दलहरुको दुईतिहाई भन्दा बढीको बहुमत रहेको ठाँउमा उहाँले पर्यटन विकासका सम्बन्धमा आफ्नै संसदीय दल, सिंगो संसद,पूर्वमन्त्री र प्रशासक एवम् पर्यटन व्यवसायीहरुसंग परामर्श गरेर उचित निर्णय लिन सक्नुहुन्थ्यो ।

उहाँको यो कार्यशैली हेर्दा हवाईमाफियाहरुले सीधै गाज्ने जोखिम बढ्दै गएको देखिन्छ । नेपालको पर्यटन सुधारको महत्वपूर्ण अंग मानिएको नेपाल वायुसेवा निगमको सुधार र सुसञ्चालनका लागि पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा एक समिति बनाउनुभएको छ ।सो समितिले दिने प्रतिवेदन कार्यान्वयन गर्न विलम्ब गर्नुभयो र निगममा लोभी पापीहरुलाई नै स्थापित गर्नुभयो भने उहाँको राजनीतिक जीवन निगमको भ्रष्टाचारमै अल्झिएर समाप्त हुने अवस्था आउछ ।

उहाँका शुभचिन्तक र सल्लाहकारहरुले बेलैमा ध्यान पुर्याउन जरुरी छ ।

Share Now

Leave a comment.