Prakash Adhikari September 24, 2019

काठमाडौं,६ भाद्र (बीबीसी) । प्रधानमन्त्री केपी ओलीले कुनै पनि देशले परोक्ष वा प्रत्यक्ष रूपमा अरू देशको मामिलामा हस्तक्षेप गर्न नहुने भन्दै यस मानेमा चीन उदाहरणीय भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले एक चीन नीतिप्रति नेपाल शब्दमा मात्र होइन व्यवहारमा पनि कटिबद्ध रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी तथा चिनियाँ कम्युनिस्ट पार्टीबीचको विचारात्मक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले त्यसो भनेका हुन्।

तर निकट भविष्यमा हुने ठानिएको चिनियाँ राष्ट्रपतिको भ्रमणका बारे भने दुवैजनाले स्पष्ट केही बताएनन्।

प्रशंसा
दुई देशका कम्यूनिस्ट पार्टीबीच काठमाण्डूको एक पाँच तारे होटलमा आज सुरू भएको अन्तर्क्रियाको उद्घाटन सत्रको सम्बोधन गर्ने क्रममा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्षले खासगरी चिनियाँ कम्यूनिस्ट पार्टी तथा राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा चीनले विकासमा मारेको फड्कोको खुलेर प्रशंसा गरे।

प्रशंसाकै क्रममा प्रधानमन्त्री केपी ओलीले चीनले शक्ति आर्जन गरेपनि अन्य देशमा थिचोमिचो हुने गरी हस्तक्षेप नगरेको बताएका थिए।

चीन शक्तिशाली देश भइकन पनि त्यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिवेश हो
केपी ओली, प्रधानमन्त्री

उनले भने, “मुलुकहरू बलियो हुँदा कहिलेकाहीँ अनपेक्षित रुपमा शक्तिको दम्भ पनि बढ्छ। र, तिनीहरूबाट असहज गतिविधि पनि हुनेगर्छ। प्राय: हामीले देख्दै आएको विषय हो। तर चीन शक्तिशाली देश भइकन पनि त्यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिवेश हो।”

बेलाबखत खासगरि दक्षिणी छिमेकी भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको चर्चाका माझ प्रधानमन्त्रीको भनाइ कतिपयले अर्थपूर्ण मानेका छन्।

दुवै नेताले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र त्यसको व्यवहारमै पालना गरिएको बताएका थिए।

प्रचण्डले भने, “नेपालले शब्दमा मात्रै होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापूर्वक अवलम्बन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने हाम्रो सम्बन्धको एक आधारभूत कडि रहँदै आएको छ। ”

दुवै नेताले समान रूपले उठाएको अर्को विषयचाहिँ राष्ट्रपति सी को नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँ विकासमा गरेको प्रगति विवरण रहेको थियो।

प्रचण्ड
चासो
तर निकट भविष्यमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने चर्चाका माझ उनीहरूले त्यसको मितिबारे केही उल्लेख गरेनन्।

प्रचण्डले केवल ऐतिहासिक भ्रमण गराउनेमा विश्वस्त रहेको बताएका थिए।

“सरकारले यथोचित तयारी गरी चीनको तर्फबाट ऐतिहासिक र उच्च स्तरीय भ्रमण गराउने विषयमा हामी विश्वस्त छौं।”

चिनियाँ राष्ट्रपति सी जिन्पिङको सम्भावित नेपाल भ्रमणको मुखैमा सत्तारूढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीले काठमाण्डूमा एउटा विचारात्मक छलफल कार्यक्रम आयोजना गरेका हुन्।

झन्डै दुईतिहाइ बहुमतको समर्थनप्राप्त सरकारको नेतृत्व गरिरहेको नेकपा र चीनमा सात दशकदेखि अविच्छिन्न शासन गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच नेपालमा हुने उक्त कार्यक्रमलाई राजनीतिक विश्लेषक तथा अन्यले निकै चासोका साथ हेरेका छन्।

नेकपानिकट स्रोतहरूका अनुसार उक्त द्विदिवसीय कार्यक्रममा चिनियाँ राष्ट्रपति सीको विचारधाराबारे छलफल गरिने र उत्तरी छिमेकले लागु गरेका नीति तथा तिनको बलमा प्राप्त उपलब्धिबारे एक किसिमको राजनीतिक प्रशिक्षण दिइनेछ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री सुन थाउले प्रमुख वक्ताका रूपमा मन्तव्य राखेका थिए।

Share Now

Leave a comment.