काठमाडौं,११ असोज। नेपाल क्रिकेट संघको शनिवार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहले बाजी मारेको छ । शुक्रवारदेखि भएको साधारणसभाको अन्त्यमा शनिवार भएको निर्वाचनमा लोकतन्त्रवादी समूहको नेतृत्व गर्नुभएका चतुरबहादुर चन्दको प्यानल नै विजयी बनेको हो ।
नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले तयार पारेको विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको निर्वाचन गराएको हो।
साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका थिए। सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गरेको हो। नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्दसँग विनयराज पाण्डे प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए। चन्दले ४४ मत ल्याए भने पाण्डेले मात्र १५ ।
१७ पदका लागि भएको निर्वाचनमा चन्दको समुहको १७ जना नै निर्वाचित भएका हुन्। क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल, कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराई निर्वाचित भएका छन्।
त्यसैगरी, जयन्ती भट्ट, महिला सदस्य (निर्विरोध निर्वाचित), कैलाश विष्ट प्रदेश सदस्य नं १, लाक्पा लामा प्रदेश सदस्य नं १, दाउद अंसारी (मोहम्मद) प्रदेश सदस्य नं २ (निर्विरोध निर्वाचित), अमित वीर पाण्डे प्रदेश सदस्य नं ३, कैलाश प्रधान प्रदेश सदस्य नं ३, ऋषी राम गौतम प्रदेश सदस्य नं ४ (निर्विरोध निर्वाचित), प्रशान्त विक्रम मल्ल प्रदेश सदस्य नं ५ (निर्विरोध निर्वाचित), पदम बहादुर खड्का प्रदेश सदस्य नं ६ (निर्विरोध निर्वाचित), विक्रम विष्ट प्रदेश सदस्य नं ७ (निर्विरोध निर्वाचित) भएका छन्।
यस्तै, अर्जुन पौडेल खुल्ला सदस्य, विरेन्द्रबहादुर चन्द खुल्ला सदस्य, धिरेन्द्र साउद खुल्ला सदस्य, दुर्गाराज पाठक खुल्ला सदस्य, जगतबहादुर टमटा खुल्ला सदस्य, करन महोत्रा क्षेत्री खुल्ला सदस्य, माधवकुमार कर्माचार्य खुल्ला सदस्य, नरेश राणा खुल्ला सदस्य, पवनकुमार अग्रवाल खुल्ला सदस्य, प्रपूल्ल वैघ खुल्ला सदस्य र संजयराज सिंह खुल्ला सदस्य निर्वाचित भएका छन्।
तत्कालीन राखेप सदस्यसचिव केशवकुमार विष्टले चतुरबहादुर चन्दको निर्वाचित समितिलाई अस्वीकार गर्दै रमेशकुमार सिलवाललाई तदर्थ समितिको अध्यक्ष बनाएका थिए । तर आइसीसीले यो सरकारी हस्तक्षेप मानेन र क्यानलाई नै निलम्बनमा पार्यो ।
त्यतिबेला क्यान निलम्बनमा परेपछि चन्द पनि निलम्बनमा परे।
वर्तमान खेलकुद परिषद्का सदस्य सचिव रहेका सिलवाल पाण्डेको नेतृत्वको क्रिकेट संघमा उपाध्यक्ष रहेको हुनाले सो गुन तिर्न उनले पाण्डेलाई अहिले अध्यक्षमा समर्थन जुटाएका थिए, तर सो समर्थनले पाण्डेलाई नेतृत्वमा पुर्याउन पर्याप्त भएन ।
निष्पक्ष र राजनीतिक हस्तक्षेप बिना सम्पन्न भएको प्रतिवेदनसहित आइसीसीले क्यानको निलम्बन फुकुवाका लागि असोज १४ गते सम्ममाआइसीसीमा पत्राचार गरेपछि मात्रै नेपालको निलम्बन फुकुवाको बाटो खुल्नेछ ।


















