Prakash Adhikari September 29, 2019

 

वाशिंटन डीसी,११असोज (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउनका लागि छानबिनको कारकका रूपमा रहेको उजुरीले निम्त्याएका चिन्ताहरूबारे अमेरिकाका एक वरिष्ठ गुप्तचर अधिकारीले पहिलो पटक आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।

आन्तरिक गुप्तचर निकाय न्याशनल सेक्युरिटीका निमित्त निर्देशक जोसेफ मग्वाएरले अमेरिकी प्रतिनिधि सभाको गुप्तचर समितिमा बयान दिँदै उजुरीकर्ताले राम्रो उद्देश्य राखेर र कानुनको परिधिभित्रै रहेर उजुरी दिएको बताए।

त्यसक्रममा ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको टेलिफोन कुराकानीबारे एक गुप्तचर अधिकारीले व्यक्त गरेका चिन्ताहरूप्रति उनी किन हप्तौँसम्म मौन रहे भन्ने जस्ता प्रश्नहरूको सामना गरे।

उनले त्यसको ब्यहोरा पहिले ह्वाइट हाउसमा दिनु पर्ने भएकोले ढिलो भएको बताए।

चिन्ताजनक

आफ्नो निवेदनमा ती उजुरीकर्ताले सन् २०२० को अमेरिकी चुनावमा विदेशी हस्तक्षेप सदर गराउन राष्ट्रपतिले आफ्नो शक्तिको प्रयोग गरिरहेको जानकारी आफूहरूले विभिन्न सुत्रहरूबाट प्राप्त गरेको उल्लेख गरेका छन्।

त्यसमा राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेपको सुरुवात वास्तवमा युक्रेनबाट भएको हो भनी देखाउन युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको सहयोग खोजेको उल्लेख गरिएको छ।

साथै ट्रम्पले भूतपूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोराविरुद्धका आरोपको अनुसन्धान गर्न पनि जेलेन्स्कीको सहयोग खोजेको उल्लेख गरिएको छ।

त्यो उजुरीकर्ताको निवेदन पढेका कंग्रेस सदस्यहरूले त्यसका विवरणहरू चिन्ताजनक रहेको बताएका छन्।

तर ट्रम्पले चाहिँ जुन उजुरीका आधारमा आफूविरुद्धको महाअभियोग अनुसन्धान थालिएको हो त्यो फगत उनकै शब्दमा कुनै जोक वा ठट्टामा आधारित रहेको बताएका छन्।

दबाब

युक्रेनमा चाहिँ एक विपक्षी सांसद ओलेक्सी गोन्चारेन्कोले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको कार्यालयमा एक निवेदन दर्ता गर्दै जुलाई महिनामा उनी र राष्ट्रपति ट्रम्पबीच भएको टेलिफोन कुराकानीको पूर्ण पाठ सार्वजनिक गर्न माग गरेका छन्।

त्यो कुराकानीबारेको एक सारांशमा ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आफ्ना सम्भाव्य चुनावी प्रतिस्पर्धी जो बाइडेन र उनका छोराविरुद्ध लगाइएका भ्रष्टाचार आरोपबारे छानबिन गराउन दबाब दिएको उल्लेख गरिएको छ।

तर एक युक्रेनी कूटनीतिज्ञ ओलेह भोलोशिनले जेलेन्स्कीको भूमिका चतुरो र व्यवहारिक भएको बताएका छन्।

तर युक्रेनमा त्यो प्रकरणबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्।

जेलेन्स्कीले पनि आफ्नो व्यवहारको बचाउ गरेका छन्।

बाइडेनको मुद्दाबारे आफूलाई थाहा नभएको बताउँदै उनले त्यसबारे अनुसन्धान गर्ने दायित्व युक्रेनी महान्यायाधिवक्ताको कार्यालयको भएको बताएका छन्।

 

अमेरिकी सांसदले हेरे ट्रम्पविरुद्ध गरिएको उजुरी

 ट्रम्प के भन्छन्?

 

अमेरिकी संसद्का सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन माग उठ्नेगरी परेको उजुरी पहिलो पटक हेरेका छन्।

गुप्तचर विभागसँग सम्बद्ध एक गोप्य सूचनादाताले ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग गरेको विवादास्पद फोनवार्ताबारे उजुरी गरेका थिए।

डेमोक्र्याट तथा रिपब्लिकन सांसदले त्यो उजुरी विचलित पार्ने खालको भएको बताएका छन्।

सो विषयमा अमेरिकी गुप्तचर विभागका कार्यवाहक निर्देशकले बयान दिन लागेको बेला यो नयाँ घटनाक्रम विकसित भएको हो।

गुप्तचरीसम्बन्धी विषय हेर्ने संसदीय समितिमा बिहीवार जोजेफ मग्वाएरले भन्ने कुरालाई ध्यानपूर्वक सुनिनेछ।

उक्त उजुरी अझै गोप्य राखिएको छ। अमेरिकी सिनेटका वरिष्ठतम सदस्य चक शुमरले त्यसलाई सार्वजनिक गर्न माग गरेका छन्।

बुधवार राति एउटा प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले महाभियोगको प्रक्रियालाई “जाली” र “नियतवश लखेट्न खोजेको” भनेका छन्।

जुलाई २५ मा गरिएको फोनवार्ताको लिखित प्रतिलिपिमा राष्ट्रपति ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई जो बाइडनका छोरा संलग्न भएको दाबी गरिएको एउटा विषयमा भ्रष्टाचारको मुद्दा चलाउन आग्रह गरेका बेहोरा देखिन्छ।

डेमोक्र्याटिक पार्टीका नेता जो बाइडन आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्ने अपेक्षा गरिएको छ।

जो बाइडन

जो बाइडनले राष्ट्पति पदका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ

युक्रेनसम्बन्धी विषयमा बाइडन बावुछोराले अनुचित काम गरेको प्रमाण छैन।

एउटा ट्वीटमा बाइडनले राष्ट्रपति ट्रम्पले “शक्ति दुरुपयोग गरेको” आरोप लगाएका छन्।

 

नयाँ कुरा के छ?

ट्रम्पविरुद्ध गरिएको उजुरी बुधवार कङ्ग्रेसलाई हस्तान्तरण गरिएको थियो।

न्यूयोर्क टाइम्सका अनुसार उजुरी ट्रम्प-‍जेलेन्स्की फोनवार्ताबारे मात्र नभई ह्वाइट हाउसका कर्मचारीले कसरी रेकर्ड गरे भन्नेबारे पनि छ।

संसदीय समितिका अध्यक्ष एडम शिफले भने, “मैले ती आरोप एकदमै विचलित पार्ने खालको पाएँ।”

“ती आँटिला व्यक्तिले जे गरे त्यसले गम्भीर बदमासीको खुलासा भएको छ,” ती सुराकीलाई सङ्केत गर्दै शिफले भने।

“तपाईँलाई जोगाउन हामी यथासम्भव सबै गर्नेछौँ।”

सांसदहरूले ती सुराकीको कुरा पनि सुन्न पाइने अपेक्षा गरेका छन् तर उनीसँग कुनै भेट निश्चित भएको छैन ।

डेमोक्र्याट पार्टीका समिति सदस्य माइक क्विग्लीले उक्त उजुरी एकदमै विचलित पार्ने खालको भएको टिप्पणी गरेका छन्। रिपब्लिकन पार्टीका सिनेट सदस्य तथा सिनेटको इन्टेलिजन्श समिति सदस्य बेन सासले त्यसमा “साँच्चै चिन्ता लाग्ने कुरा” भएको बताएका छन्।

रिपब्लिकनहरूले खालि ट्रम्पलाई संरक्षण गर्नु नपर्ने उनको धारणा छ।

तर अर्का रिपब्लिकन सदस्य माइक कनवेले आफूले कुनै आपत्तिजनक कुरा नभेटेको र त्यसबाट ट्रम्पलाई कुनै हानि नपुग्ने बताएका छन्।

उजुरीको विषयवस्तु सार्वजनिक गर्न आग्रह गर्दै शुमरले भने, “ती सुराकीले गरेको उजुरी पढ्ने अधिकार सर्वसाधारण जनतालाई छ।”

महाभियोगसम्बन्धी छानबिन के हुँदैछ?

ट्रम्पले विदेशी सहयोग लिएर जो बाइडनलाई बदनाम गर्न खोजेको र अमेरिकाले गर्ने वैदेशिक सहयोगलाई आफ्नो मोलतोलको साधन बनाएको आरोप डेमोक्र्याटहरूले लगाएका छन्।

अमेरिकी संविधानअनुसार “देशद्रोह, घुसखोरी वा अन्य ठूला अपराध र मिस्डिमीनर भनिने अलि कम गम्भीर प्रकृतिको अपराधमा” राष्ट्रपतिलाई महाभियोग लगाउन मिल्छ। संसद्का दुवै सदनबाट महाभियोग पारित भए राष्ट्रपति पदमुक्त हुन्छन्।

जुलाईमा ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता रोकिदिएका थिए। तर उनले युक्रेनलाई दबाव दिन त्यसो नगरेको दाबी गरेका छन्।

कङ्ग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुन: निर्वाचित हुन खोजेका हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित हुनेछ।

तल्लो सदनकी डेमोक्रयाटिक नेत्री तथा सभामुख न्यान्सी पेलोसीले ट्रम्पले गरेको काम पदीय गरिमाको उल्लङ्घन भएको भन्दै भनिनन्, “कानुनभन्दा माथि कोही पनि छैन।”

तर ट्रम्पले जेलेन्स्कीलाई दबाव नदिएको दाबी गरेका छन्।

“मैले त्यसो गरकेो छैन। मैले कसैलाई धम्क्याएको छैन,” उनले भने।

Share Now

Leave a comment.