सानेपा(ललितपुर),१२ असोज । नेपाली कांग्रेसले तनहुँको रिसिङ गाउँपालिकामा बनेको गाउँपालिकाको नवनिर्मित भवन शिलान्यास गर्न जानु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. मिनेन्द्र रिजाल, तनहुँका कार्यवाहक सभापति लगायत पार्टीका कार्यकताहरुमाथि गरिएको अवरोध र आक्रमणको तयारीको विरोध गरेको छ ।
आइतबार सो कार्यक्रममा सहभागीहुन जान लाग्नुभएका कांग्रेसका नेता र कार्यकर्ताहरुलाई नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेका थिए ।
गाँउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेकोे थियो ।
नेपाली कांग्रेसले कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय हो भन्दै फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक भएको बताएको छ ।
कांग्रेसले भनेको छ, सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहो¥याउँदै व्यक्तिकोे अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन नेपाली कांग्रेस सबैलाई आग्रह गर्दछ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने बताउदै लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुुन नेकपालाई चेतावनी दिइएको छ ।
यसै बीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रिसिड.मा सत्तारुढ दलका कार्यकर्ताले देखाएको असहिष्णु व्यवहारको निन्दा गर्नुभएको छ ।


















