Prakash Adhikari October 2, 2019

काठमाडौं, १५ असोज । संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मीउपर करणीसहित यौन दुव्र्यबहारको आरोप लागेर राजिनामा दिुनुभएका संघीय संसदको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पदमुक्त हुनुभएको छ ।

संसद सचिवालयका सचिव डा. भरतराज गौतमले बुधबार अपरान्ह एक सूचना पत्रमा उहाँको राजिनामाको व्यहोरा सहितको सूचना जारी गरेपछि उहाँको सभामुख पद समाप्त भएको हो । प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद २४ को नियम २११ (२) मा सभामुख र उपसभामुखको राजिनामाको सम्बन्धमा यस्तो राजिनामा सभाको अधिवेशन र बैठक चलेको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने र बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद २४

२११ः राजीनामा : (१) सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्नेछ । उपसभामुख वा कुनै सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनेछ । बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिनेछ ।

२१२ः स्थान रिक्तताको सूचना :

(१) संविधानको धारा ८९ बमोजिम कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी बैठकलाई दिनेछ ।
(२) सभाको बैठक चालू नरहेको अवस्थामा सभामुखले त्यस्तो जानकारी सूचनापत्रमा प्रकाशन गराउनेछ ।

(३) उपनियम (१) बमोजिम स्थान रिक्त भएको जानकारी सचिवले मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिनेछ र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।

संविधानको भाग ८ मा संघीय व्यवस्थापिका अन्तरगत सभामुख र उपसभामुखले राजिनामा दिने विषयमात्र उल्लेख छ । दिएको राजिनामाको टुंगो कसरी लगाउने भन्ने स्पष्टता छैन ।

संविधानमा भने सभामुख तथा उपसभामुखको पर रिक्तता सम्बन्धमा यस्तो भनिएको छ,

संविधान  भाग ८
भाग–८ संघीय व्यवस्थापिका

(६) देहायको कुनै अवस्थामा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछः–

(क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा, तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।
(ख) निजले लिखित राजीनामा दिएमा,
(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।
(७) प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधि सभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ ।

सभामुख महराले १४ असोज मंगलबार दिनुभएको राजिनामा पत्रमा संविधानको अस्पष्टतामाथि खेल्न खोज्नुभएको छ । उहाँले राजिनामा पत्र पनि निलम्बन जस्तो भाषा प्रयोग गर्दै छानवीनसम्मका लागि राजिनामा दिएको व्यहोरा उल्लेख गर्नुभएको थियो । उहाँले प्रयोग गरेको भाषालाई लिएर ब्यापक प्रतिक्रिया उत्पन्न भएको थियो । यसमा उत्पन्न भ्रमलाई चिर्दै पूर्व सभामुख सुभाष नेम्बाड.ले राजिनामा भन्ने शब्द र त्यसको परिभाषाले नै पदत्याग गरिसकेको बुझाउने भएकोले त्यसमा तपसीलका भाषामा के लेखियो अर्थ नहुने बताउनु भएको थियो ।

सभामुख महराले आफू सम्बद्ध नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले पदबाट राजिनामा गर्न निर्देशन दिएपछि सो प्रतिनिधिसभाका माननीय उपसभामुखलाई सम्बोधन गर्दै राजिनामा दिनुभएको थियो ।

सभामुख महरा विजया दशमीको घटस्थापनाको साँझ गत आइतबार संसद सचिवालयमा कार्यरत एक स्वास्थ्यकर्मी महिलाको निवासमा उहाँ एक्लै भएको मौकामा मदिरा पान गरी पुगेको र त्यहाँ थप मदिरा पान गरी ती स्वास्थ्यकर्मीलाई पनि मदिरा पान गराएपछि आफ्नो अस्मिता लुटिएको भनेर महिलाले तीनकुनेको वडा प्रहरी कार्यालय, संघीय संसदमा प्रतिनिधित्व गर्ने राजिनीतिक दलका अगुवा महिला सांसदहरु, केही पुरुष सांसदहरुलाई पनि खबर गर्नु भएको र त्यहाँबाट कुनै भरपर्दो आश्वासन र कारबाहीको संकेत नपाए पछि सञ्चारकर्मीको सामु आफ्नो व्यथा सुनाउनुभएको थियो ।

निवर्तमान सभामुख महराले पनि सो साँझ आफू ती महिलाको कोठामा गएको र साथी जस्तो भएकोले नियमित आउने जाने भैरहने बताउनुभएको थियो ।

पीडित महिलाले आफू जबरजस्ती करणीमा परेको र आफूमाथि शारीरिक आक्रमण भएको पनि बताउनुभएको थियो ।

यता सरकार र सत्तारुढ दल समर्थक सञ्चारमाध्यमहरुले पीडित महिलाले विगतमा आत्महत्याको प्रयास गरेको, उहाँको मानसिक अवस्थामा समस्या रहेको र उहाँले बोली फेरेर निवर्तमान सभामुख महराद्धारा आफूमाथि बलात्कार नभएको भनी निरन्तर समाचार प्रशारण गरेकोले यो मुद्दालाई सामसुम पार्न ठूलो कसरत हुने त्रास उत्पन्न भएको छ । पीडित महिलालाई मानसिक र भौतिक यातना दिन सकिने संभावनालाई दृष्टिगत गरी नेपाल प्रहरीले उहाँको सुरक्षा निगरानीको लागि दुई सुरक्षाकर्मी खटाएको जानकारी दिएको छ ।

Share Now

Leave a comment.