Prakash Adhikari October 23, 2019

दशरथचन्द नगरपालिका(बैतडी), ५ कार्तिक ।  बैतडीको दशरथ चन्द नगरपालिकामा सडक बनाउने विषयमा विवाद हुँदा स्थानीय बासिन्दा हटाउन एक्सभेटर प्रयोग भएपछि त्यसको सर्वत्र आलोचना भएको छ।

एभिन्यूज टीभीबाट प्रसारित भिडिओ सोमवार सामाजिक सञ्जालमा आएपछि त्यसले ठूलो चर्चा पायो।

बाटो बनाउने योजनाको विरोध गरिरहेका मानिसलाई लक्षित गरेर एक्सभेटरले पेल्न खोज्ने भिडिओमा देखिन्छ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य तीन जनालाई सोधपुछका लागि बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बीबीसीलाई बताए।

पौडेलले भने, “घटनामा दुवै पक्षको कमजोरी देखिन्छ, केही राजनीतिक रङ्ग पनि मिसिएको देखिन्छ।”

“तर जेसुकै पृष्ठभूमिमा भए पनि त्यसले नागरिकमाथि एक्सभेटर प्रयोग गर्नु अपराध हो भन्ने ठानेर हामीले अनुसन्धान गरिरहेका छौँ,” उनले भने।

कसरी भयो घटना?
ग्वाललेकमा तल्लो र माथिल्लो गाउँका परिवारहरूबीच सडक विस्तार गर्ने कुरामा विवाद उत्पन्न भएको बताइन्छ।

गाउँमा मुख्य सडक पहिल्यै पुगिसकेको भएपनि झन्डै ३००-४०० मिटर सहायक सडक निर्माणको काम बाँकी थियो।

तल्लो गाउँका परिवार बाटो खोल्ने पक्षमा थिए। तर उनीहरूले सहमतिबिनै बलजफ्ती गरेको आरोप माथिल्लो गाउँका बासिन्दाको थियो। त्यसैले असहज अवस्था सिर्जना भएको दशरथ चन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाको बुझाइ छ।

थापाका अनुसार त्यस क्रममा एक शिक्षकले तिहारसम्मको निम्ति सडक विस्तार रोक्न आग्रह गरे पनि अर्को पक्षले मानेको थिएन।

उनले भने, “स्थानीय बासिन्दाहरूले तेल र जेसीबी (एक्सभेटर)लाई तिर्ने पैसा उठाएर स्थानीयहरू स्वयम्‌ले अग्रसरता लिए। यसअघि नगरपालिकाले दिएको चार लाख रुपैयाँ बराबरको काम सकिए पनि उपभोक्ता समितिले काम अगाडि लगेको थियो।”

कस्तो अपराध?
उक्त भिडिओमा सडक खन्न लागेको एक्सभेटर रोक्न लागेकी ‍एक महिला लडेको देखिन्छ। उनी स्थानीय बासिन्दा गौरी जोशी भएको बताइएको छ।

एक्सभेटरले लडाउँदा घाइते भएकी ती महिलालाई थप उपचारका निम्ति धनगढी पठाइएको स्थानीय बासिन्दाहरूले बताए।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार घटनामा पाँच जना घाइते भएका छन्।

सरकारी व्यवस्थाअनुसार एक करोड रुपैयाँभन्दा कम लागतका विकास निर्माणका काममा डोजर वा एक्सभेटर प्रयोग गर्न नपाइने व्यवस्था छ।

स्थानीय पहलमा निर्माण गरिएकोले त्यसमा मुआब्जा दिने व्यवस्था भने थिएन।

सामाजिक सञ्जालमा कसले के भने?

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले उक्त घटनालाई बर्बर भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले उक्त भिडिओलाई लक्षित गर्दै “मानवता हराएको हो?” भनेर प्रश्न गरेकी छन्।

सोमवारको घटनालाई ज्यान मार्ने उद्योगको रूपमा दोषीविरुद्ध मुद्दा चलाउनुपर्ने धारणा प्रदेश नम्बर दुईका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले ट्विटरमा व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उक्त भिडिओ “हेर्नै नसकिने” भन्दै ‘दुर्गम भेगका जनता र झन् महिलालाई मान्छे नै नगन्ने कस्तो प्रवृत्ति?’ भनेर ट्वीट गरेका छन्।

 

बीबीसीबाट

Share Now

Leave a comment.