Prakash Adhikari November 4, 2019

कीर्तिपुर(काठमाडौं), १८ कार्तिक । नेपाल भ्रमणमा रहेको बेलायतको ऐतिहासिक क्रिकेट क्लब मेरिलिवोन क्रिकेट क्लब(एमसीसी)संग नेपालको राष्ट्रिय टीमले आज एकदिवसीय मैत्रीपूर्ण खेल खेल्दैछ ।

इंग्ल्याण्डको एमसीसीसंगको मैत्रीपूर्ण खेलकालागि नेपालले यस अगाडि नै कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा तीनवटा टीमको घोषणा गरिसकेको छ ।

एक दिवसीय, टी २० र तीन दिवसीय क्रिकेटका लागि तीन वटा टिममा नेपालका उत्कृष्ट २३ जना पुरुष क्रिकेट खेलाडी चयन भएका छन् । तीन वटै फरम्याटमा खेल्ने खेलाडी ८ जना रहेका छन् ।

५० ओभरको एक दिवसीय खेलका लागि नेपाल क्रिकेट एशोसिएसनले घोषणा गरेको टीममा ज्ञानेन्द्र मल्ल(कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विक्रम शोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी(उपकप्तान), इशान पाण्डे, करण केसी, ललित राजवंशी, पारस खड्का, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी रहेका छन् ।

एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा प्रतियोगिता हुँदैछ । यस मध्ये नेपाली यू १९ संगको खेल आइतबार कीर्तिपुरमा सम्पन्न भएको छ ।

नेपाल आएको एमसीसीको टिममा जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन् । टीममा रिचार्ड ग्रेटोरेक्स (म्यानेजर), ओइन डोकिन्स (प्रशिक्षक), जेफ इमेन्स (अम्पायर) र एलन जोन्स (स्कोरर) अफिसियलको रुपमा सहभागी रहेका छन् ।

नेपाल आएको एमसीसी टिमका अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्स टिमका अनुभवी खेलाडी हुन् ।

टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए । पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा छन् । उनी सन् २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए ।

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्नेछ ।

यो टुरमा एमसीसीले एउटा तीन दिवसीय, दुईवटा ५० ओभरको खेल र तीनवटा टी २० खेल खेल्नेछ ।

यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी विद्यालयमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।

Share Now

Leave a comment.