Prakash Adhikari November 7, 2019

काठमाडौं,२१ कार्तिक । नोभेम्बर १४ देखि बंगलादेशमा आयोजना हुने एसीसी इमिर्जिङ एसिया कपमा खेल्ने नेपाली टिमका सदस्यको नाम घोषणा भएको छ ।

यस कपका लागि नेपाल चयन हुनुपूर्व नै यूएईमा हुने टी १० मा आबद्ध भएका कारण नेपालका चर्चित दुई खेलाडी पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई यस टीममा समावेश गरिएको छैन् ।

घोषित टिममा कुशल भूर्तेल, इशान पाण्डे र अभिनाश बोहोरा ५० ओभरको खेलका लागि नयाँ अनुहारहरु हुन् ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहने इमर्जिड. एशिया कपको टिममा उपकप्तानमा दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललित राजवंशी, पवन सराफ, सन्दिप जोरा, सुसान भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहोरा र कुशल भुर्तेल समाविष्ट छन ।

कुशल यू १९ टिमबाट सिनियरमा पुगेका खेलाडी हुन । उनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन । अविनाश बोहोरा यसअघि राष्ट्रिय टिममा परेपनि ५० ओभरको खेलमा भने टिममा पर्न सकेका छैनन् । उनी यूएई विरुद्धको सिरीजका लागि सिनियर टिममा भएपनि एकदिवसीय खेल भने खेलको थिएनन् ।

यस्तै इशान पाण्डेले यसअघि टी २० मा खेलेपछि ५० ओभरका लागि भने पहिलो पटक टिममा परेका हुन ।

यसपटक टिमको म्यानेजरमा क्यानका सदस्य प्रशान्त विक्रम मल्ल जाने भएका छन । यस्तै प्रशिक्षक उमेश पटवाल, एसिसेन्ट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, भिडियो एनालिष्ट रमन सिवाकोटी, फिजियोमा विक्रम न्यौपाने छन ।

इमर्जिड. कप र टी १० लिगको समय जुधेकोले नेपाली क्रिकेट स्टारद्धय पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने ग्लोबल छनौटमा परेकोले त्यसतर्फ लाग्दैछन् । पारस नोभेम्बर ११ मा र सन्दिप १२ तारिखमा यूएई जाने कार्यक्रम छ ।

प्रतियोगितामा नेपाल सहित टेस्ट राष्ट्र भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश सहित ओमान र हंगकंग गरि कुल ८ टिम सहभागी हुनेछन्। टिमहरुमा ११ जना खेलाडी २३ वर्ष मुनि र अन्य ४ जना खेलाडी २३ वर्ष माथिको रहनेछन्।

नेपालले नोभेम्बर १४ मा भारतसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

 

Share Now

Leave a comment.