Prakash Adhikari November 14, 2019

 

विर्तामोड(झापा), २८ कार्तिक । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले बेइजिङ्गमा लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीले गरेको सहमतिका बारेमा पनि नेपालले बोल्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले लिपुलेक त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमी भएकाले कुनै पनि सहमति नेपालको अनुपस्थितिमा हुन नसक्ने र नेपालको सहमति बेगर भएको संझौता नेपालीलाई मान्य नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लिपुलेकमा अन्तराष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो । तर नेपाललाई बाहिर राखेर सहमति गरियो । के कस्ता शर्त र समझदारीमा सो सहमति भयो यसमा नेपालले कुरा गर्नुपर्छ ।’

नेका वरिष्ठ नेता पौडेलले दुईतिहाईको सरकार अनि प्रतिपक्षको साथ भएको बेलामा सरकारले कुटनीतिक पहल गरेर सीमा विवाद समाधान गर्न नसके कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोड्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले ‘सरकारले जनताका आवश्यकता खुट्याउन नसकेको आरोप लगाउदै भन्नुभयो, जनतालाई खानेपानी चाहिएको छ । प्रधानमन्त्री पानी जहाजको कुरा गर्नुहुन्छ । जनतालाई सडक चाहिएको छ । तर सरकार रेल ल्याउने कुरा गर्छ ।’

उहाँले नेपाली कांग्रेस जे बोल्छ त्यही गर्छ तर कम्युनिष्टहरु जे बोल्छन त्यो गर्नै सक्दैनन् भन्दै कम्युनिष्ट नेताहरुको दैनिकी कांग्रेसले बनाउन सुरु गरेको संरचनाको उदघाटन गर्न जाने अनि फोटो खिच्ने र कांग्रेसलाई गाली गर्ने मात्र भएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस कार्यकर्ताले आफूलाई जनतासंग जोडेर कम्युनिष्टहरुको गरेको राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताउनुभयो ।उहाँले नेतृत्वले गुटबन्दी व्यवस्थापन गर्न नसक्दा कांग्रेस कमजोर भएको बताउनुभयो ।

Share Now

Leave a comment.