काठमाडौं, २८ कार्तिक । आगामी मसिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि १०) सम्म नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग )को लागि नेपाली पुरुष र महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।
नेपाली पुरुष टीमको चयन प्रशिक्षक उमेश पटवाल र महिला टीमको चयन प्रशिक्षक जगत टमाटाले गर्नुभएको हो ।
सागको क्रिकेटतर्फ नेपाल सहित श्रीलंका, बंगलादेश , भुटान, माल्दिभ्स गरि ५ टिम सहभागी हुँदैछन्। भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता नजनाउने भएका छन् ।

पुरुष तर्फको क्रिकेट टियु मैदान किर्तिपुरमा तथा महिलातर्फको खेलहरु पोखरा रंगशाला स्थित क्रिकेट रंगाशालामा खेलिनेछ।
नेपाली टिम राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहने नेपाली पुरुष टीमा दिपेन्द्र ऐरि , पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान रहने छन् ।अतिरिक्त खेलाडी को रुपमा रोहित पौडेल, भीम सार्की र सागर ढकाललाई राखिएको छ ।

त्यस्तै नेपाली महिला टीममा रुविना क्षेत्री बेलवासेको कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सरस्वती चौधरी, अञ्जल चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवरको टीम राखिएको छ । महिला टीममा वैकल्पिक खेलाडीका रुपमा ज्योति पाण्डे, संगीता राई, अस्मिना कर्माचार्यलाई राखिएको छ ।
सागमा क्रिकेट अन्तिम पटक २०१० मा बंगलादेश सागमा समावेश गरिएको थियो। त्यसबेला नेपाल लिग चरणमा बंगलादेश, श्रीलंका र पाकिस्तानसंग सहजै पराजित भएको थियो भने माल्दिभ्सलाई पराजित गरेको थियो।
कास्य पदकको लागि भएको खेलमा नेपाललाई पाकिस्तानले २ विकेटले पराजित गरेको थियो। खेलमा नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ८ विकेट गुमाएर १९.३ ओभरमा पुरा गरेको थियो। नेपालको लागि प्रदिप ऐरीले अविजित ४५ बलमा ५२ रन बनाएका थिए भने बलिङ्गमा चन्द्र साउदले २ विकेट लिएका थिए।
बंगलादेशले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै २०१० सागमा क्रिकेटतर्फको स्वर्णपदक जितेको थियो। श्रीलंकाले रजत र पाकिस्तानले कास्य पदक जितेको थियो।


















