काठमाडौं,२२ मंसिर । अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले नेपाल भ्रमण गरेर फर्के लगत्तै अमेरिकाले नेपाली सेनालाई दिने भनिएका दुई ‘स्काई ट्रक’ नेपाल अवतरण गरेका छन् ।
केही जगेडा पार्टपूर्जा सहित ती दुई विमान आइतबार बिहानै काठमार्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
अमेरिकाले २०७२ सालमा गएको विनासकारी भूकम्पको समयमा ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो ।
अमेरिकाले पोल्याण्डको पोलस्की ज्याकलेडी लोट्निच्ज (पीजेडएल मियलेक)सँग ती विमान खरिद गरेर नेपाललाई पठाएको हो । दुई विमानको खरिदका लागि १ करोड ८० लाख डलरको वैदेशिक सैन्य विक्री (एफएमएस) सम्झौता भएको जनाइएको थियो ।
दोस्रो चरणमा थप दुई वटा विमान पठाउने अमेरिकी अधिकारीको तयारी छ । थप विमान सन् २०२२ को अन्त्यसम्ममा आइपुग्ने जंगीअड्डाले जनाएको छ ।
तेस्रो चरणमा अमेरिकाले एयर एम्बुलेन्स समेत दिने जनाइएको छ । जसमा आवश्यकता अनुसार विमानभित्रै पनि शल्यक्रिया गर्न मिल्ने व्यवस्था हुनेछ ।
सबै विमान विपतको समयमा उपयोगी हुने नेपाली सेनाको विश्वास रहेको छ ।


















