निरञ्जन राजवंशी / बीबीसी न्यूज नेपाली
नेपालले १३औँ दक्षिण एशियाली खेलकुद सागको बक्सिङमा एउटा स्वर्ण पदक जितेको छ। क्षेत्रीय खेलकुदको यो संस्करणमा बक्सिङमा नेपालको यो पहिलो स्वर्ण पदक हो।
सोमवार महिला कबड्डी, महिला फुटबल र पुरुष थ्री बाई थ्री बास्केटबलको फाइनलमा भारतसँग पराजित भएको नेपालले कुल स्वर्ण पदक सङ्ख्या ४६ पुर्याएको छ।
महिलातर्फ ४३ केजी तौल समूहमा मिनु गुरुङले भारतकी शिक्षालाई फाइनलमा ५-० अङ्कले हराएर स्वर्ण पदक जितेकी हुन्।

तीन फाइनलमा भारतसँग पराजित
सोमवार नेपाल तीन खेलका फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा सीमित भयो।
महिला फुटबलमा पोखरा रङ्गशालामा भएको खेलमा भारत २-० ले विजयी भयो।
भारतका लागि बाला देवीले पहिलो र दोस्रो हाफमा एक-एक गोल गरिन्।

इतिहास रच्दै सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली महिला कबड्डी टोली पनि भारतसँग पराजित भएको छ।
काठमाण्डूमा भएको फाइनलमा ५०-१३ ले पराजित भएको हो।
त्यस्तै काठमाण्डूमै भएको थ्री बाई थ्री बास्केटबलमा नेपालको पुरुष टोली भारतसँग २०-१५ ले पराजित भयो।
सागको पदक-तालिकामा भारत शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।


















