
काठमाडौँ, २९ पौष । चिकित्सा शिक्षामा सुधार र न्यायालयको शुद्धीकरणको माग राख्दै आमरण अनशन बसेका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज अस्पतालका प्रा. डा. गोविन्द के.सी.ले शनिबार बिहान अनशन तोडेका छन् ।
चिकित्सा शिक्षा सुधारका सम्बन्धमा सरकारसंग शुक्रबार राती ५ बुँदे सहमति भएपछि प्रा. डा. के.सी. अनशन तोड्न राजी भएका थिए ।
डा. के.सी.ले २५ वर्षदेखि अस्पतालको गेटमा जुत्ता सिलाउँदै आएका नथुनिया मोतीको हातबाट जुस पिउँदै शनिबार(आज) बिहान १० बजे अनशन तोडेका हुन्।
सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायमा प्रा. डा. शशि शर्मालाई पुर्नस्थापना गर्ने निर्णय भएपछि डा.केसीले पत्रकार सम्मेलन गरी १४ औं चरणको अनशन सुरु गरेका थिए ।
पत्रकार सम्मेलनमा वितरित पे्रस विज्ञप्ति र उनले दिएको अभिव्यक्तिले अदालतको मानहानी भयो भनी परेको मुद्दामा सर्वोच्च अदालतले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
तर प्रहरीले शिक्षण अस्पतालमा अनशन बसिरहेका प्रा. डा. के.सी.लाई मध्यरातमा उठाएर हिराशतमा लिएपछि त्यसको व्यापक आलोचना भयो । अदालतले साधारण तारेखमा छोडेपछि पनि अनशन बसेका प्रा. डा. के.सी.संग शुुक्रबार राति ११ बजे स्वास्थ्यमन्त्री दीपक बोहोराले ५ बुँदे सहमति गरेका थिए । उक्त सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने,त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने, त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने र केसीले अनसन कार्यक्रम अन्त गर्ने बुँदाहरु उल्लेख गरिएको छ ।