वाशिंटन(संयुक्त राज्य अमेरिका), ७ पौष(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको मात्र ९१ मिनेटपछि ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको छ।
टेलिफोन वार्तामा ट्रम्पले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेका थिए।
डोमोक्र्याटहरू भन्छन्: राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको कुरा त्यसले देखाउँछ।
त्यो महत्त्वपूर्ण टेलिफोन कुराकानी शक्तिको दुरुपयोगमा एउटा मुख्य हिस्साको रूपमा रहेको छ जसमाथि टेकेर ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग लगाइयो।
डोनल्ड ट्रम्प महाभियोग: अब के हुन्छ?
गोप्य जानकारी खुलासा गर्ने एक अमेरिकीले त्यो कुराकानी सुनेपछि चासो व्यक्त भएको थियो र त्यसले महाभियोग प्रक्रियालाई अगाडि बढायो।
गत बुधवार हाउस अफ रेप्रेजेन्टेटिभ्सले औपचारिक रूपमा ट्रम्पविरुद्ध महाभियोग लगायो।
तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण रहेकोले ट्रम्प पदबाट हट्ने सम्भावना देखिँदैन।
इमेलमा के छ?
हालै सार्वजनिक भएको इमेल अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मुद्दामा एउटा अदालतको आदेशपछि सेन्टर फर पब्लिक इन्टिग्रिटीले पाएको छ।
ट्रम्पले जेलेन्स्कीसँग कुराकानी गरेको ९१ मिनेटपछि ह्वाइट हाउसका वरिष्ठ अधिकारी माइक डफेले युक्रेनलाई दिने गरिएको सहायता रोक्का गर्ने विषयमा सम्पर्क गरेको इमेलले देखाउँछ।

टेलिफोन कुराकानीबारे खुलासा भएपछि ह्वाइट हाउसले त्यसको ट्रान्सक्रिप्ट अर्थात् लिखित स्वरूप सार्वजनिक गरेको थियो।
ट्रान्सक्रिप्ट अनुसार ट्रम्पले जेलेन्स्कीलाई सहयोग गर्न आग्रह गर्दै जो बाइडनविरुद्ध अनुसन्धान चलाउन भनेका थिए।
बाइडन सन् २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पका प्रमुख प्रतिद्वन्द्वी हुन्।
ट्रम्पले एउटा युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका बाइडनका छोरा हन्टर बाइडेनविरुद्ध पनि अनुसन्धान चलाउन आग्रह गरेका थिए।
अमेरिकी माथिल्लो सदन सिनेटमा प्रतिनिधित्व गर्ने एक प्रमुख डेमोक्र्याट चक सुमरले युक्रेनलाई दिइने सैनिक सहयोग रोक्का गर्न आदेश दिइएको इमेललाई ‘विस्फोटक’ भनेका छन्।


















