काठमाडौँ, २७ पौष । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपा सचिवालयको राजीनामा दिने निर्देशन नमान्ने बताएपछि नेकपाभित्र नयाँ समस्या सिर्जना भएको छ ।
आइतबार बिहान बालुवाटारमा उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर अध्यक्षद्वयले राजीनामा गर्न निर्देशन दिनुभएको थियो ।
सो बैठकमा महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो ।
बैठकमा शनिबार सचिवालय बैठकले गरेको निर्णयबारे उपसभामुखले चासो राख्नुभएको थियो। उहाँले निर्णयमा कसको हस्ताक्षर छ भनेर सोध्नुभएको थियो।
जवाफमा महासचिव पौडेलले उपसभामुखलाई राजीनामा गराउने भनेर सचिवालयले गरेको निर्णयमा आफ्नो हस्ताक्षर रहेको बताउनुभएको थियो।
त्यसपछि तुम्बाहाङ्फेले, तपाईंको निर्णय तपाईं नै फिर्ता लैजानुस् भन्नुभएको थियो।
उपसभामुखले आफूलाई सभामुख बनाउने निश्चित नगरेसम्म उपसभामुखबाट राजीनामा नगर्ने बरु संसद बैठक संचालन गरेर सभामुख निर्वाचनको कार्यतालिका अगाडि बढाउने निर्णय सुनाउनुभएको थियो ।
भेटवार्तामा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले बाहिर निर्देशन वा जे भनेर आएपनि सचिवालयले भने संविधानको व्यवस्था बमोजिम सभामुख नेकपाले पाउने वातावरण बनाउनका लागि राजीनामा गराउने कुरा भएको बताएर आश्वस्त पार्न कोशिस गर्नुभएको थियो।
तुम्बाहाङ्फेले राजीनामा नदिने अडान लिएपछि अध्यक्षद्वयले प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गर्न उपसभामुखलाई नै निर्देशन दिएका थिए।
सो अनुरुप प्रतिनिधिसभाको बैठक माघ १२ गते बस्ने गरी सूचना टाँस गरेर उपसभामुख डा. तुम्बाहाम्फेले संसद बैठक स्थगित गर्नुभएको थियो।
सचिवालयले उपसभामुखबाट डा. तुम्बाहाम्फेलाई राजिनामा गराएर सभामुखमा अरु कसैलाई प्रस्तावित गर्ने मनशाय राखेपछि उपसभामुखले आफूलाई नै सभामुख बनाउने निर्णय नगरिकन राजिनामा नदिने अडान लिनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. शर्मा ओलीको पनि सहयोग र समर्थन भएकोले सचिवालयको निर्देशनलाई उपसभामुख डा. तुम्बाहाम्फेले नेकपाको सचिवालयसंग पंगा लिने आँट गर्नुभएको हो ।


















