काठमाडौँ,२८ माघ । क्रिकेट विश्वकप लिग २ मा पहिलो विजय हासिल गरेको शनिवारको खेलमा नेपाली खेलाडी कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्याल अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुशल मल्लले नेपालकै रोहित पौडेलले एक दिवसीय क्रिकेट खेलमा कायम गरेको कीर्तिमान भंग गरेका हुन । खेलमा कुशलले ५१ बलमा ५० रनको योगफल तयार पारेका थिए । उनले यो कीर्तिमान १५ बर्ष ३ सय ४० दिनका कायम गरेका हुन । रोहितले भने सन २०१९ मा युनाइटेड अरब इमिरेट्समा भएको खेलमा युएईविरुद्धको खेलमा अर्धशतकको कीर्तिमान कायम गरेका थिए ।
विश्व कप क्रिकेट लिग २ अन्तरगतको दोस्रो खेलमा विजय हात पार्ने क्रममा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । पहिलो खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको थियो।
नेपालको लागि बिनोद भण्डारीले ५९ तथा कुशल मल्लले ५० रन बनाए। भण्डारीले ७९ बलमा ६ चौका र १ छक्का तथा मल्लले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
एक समय नेपालले ४९ रन बनाउदा पहिलो ५ विकेट गुमाई सकेको थियो। शरद भेसावकरको सट्टा टिममा भित्रिएका सुबास खकुरेल ३ रन, कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, पारस खड्का १९ रन, दिपेन्द्र ऐरी ० तथा आरिफ शेख २ रन बनाएर आउट भए।
छैठौं विकेटको लागि कुशल मल्ल र बिनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए। यस क्रममा कुशल मल्ल ३९ रनमा रहंदा अमेरिकी फिल्डरले सहज क्याच मिस गरेका थिए। मल्ल ३६ औं ओभरमा करिमा गोरबाट क्याच आउट भए।
मल्लको विकेटपछि करन केसी १२ तथा सन्दिप लामिछाने खाता नखोली आउट भए। ४८ औं ओभरमा बिनोदलाई रस्टि थेरोनले क्याच आउट गराए। सुशन भारिले ११ रन बनाउदा नेपालले योगफल १ सय ९० रन बनायो।
अमेरिकाको बलिंगमा क्यामरन स्टेभेनसनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। यस्तै सौरभ नेत्रवाल्कर र रस्टि थेरनले समान दुइ विकेट लिए।
खेलमा अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्दै अमेरिकालाई १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
१ सय ९१ रनको विजय लक्ष्य लिएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो। ७५ रन बनाएका इयान हल्यान्डले अमेरिकालाई विजय दिलाउन सकेनन्। उसकालागि क्यामरन स्टेभनसनले १९ रन, के गोरले १०,रस्टि थेरन ९,अक्षय होमराज र अरुण जोन ५।५,एम डी पटेल ४,सौरभ नेत्रवाल्कर र इएन हटचिन्सनले ३ । ३ तथा एक्सएम मार्शलले २ रनको योगदान गरे ।
अमेरिकालाई रोक्ने क्रममा नेपालका करण केसीले सर्वाधिक ४, सुसन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए। केसी प्लेयर अफ द म्याच समेत चुनिए।
सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसंग १८ रनले पराजित भएको थियो।