Prakash Adhikari January 19, 2018

काठमाडौं, ५ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले पार्टीमा महत्वपूर्ण योगदान दिएकाहरुलाई राष्ट्रियसभाको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

माघ ४ गते बिहिबारदेखि दुई दिनसम्म चलेको पार्टीको बैठकमा निर्वाचनमा प्राप्त परिणामको प्रारम्भिक समिक्षा, नविन ढंगले अघि बढ्ने संकल्प र तत्काल राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत रहने निर्णयका गरी समाप्त भएको हो ।

बैठकले आगामी केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा बैठकमा प्रस्तुत गर्नका लागि पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समिक्षा तथा निर्णय सहित र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारले एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देश गर्ने निर्णय पनि गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको दुई चरणको निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि पहिलो पल्ट बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेपाली जनताको सात दशकको अथक प्रयासबाट प्राप्त संविधानको कार्यान्वयन गर्ने क्रममा देशमा रहेका सबै राजनीतिक शक्तिहरुलाई स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराई संविधानलाई सर्वस्वीकार्य बनाउदै स्वतन्त्र,निश्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको वर्तमान सरकार,निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्टसेवक कर्मचारी,निर्वाचनमा सरिक हुने राजनीतिक दल, सर्वसाधरण नेपाली र नेपालका शुभेच्छुक मित्रराष्ट तथा दातृनिकाय सबैलाई धन्यवाद पनि दिएको छ ।

नेपाली कांग्रेसले भनेको छ, ‘दशकौंसम्मको अथक संघर्ष–यात्राका आरोह–अवरोह र चुनौति पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धीलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको यो निर्वाचनले दिएको छ । यी निर्वाचनहरुले नेपालको नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बाटोमा लगेको छ । समावेशी लोकतन्त्र, सम्प्रभु जनताको गणतन्त्र एवं समता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवाद र समृद्ध नेपाल निर्माणको बलियो आधारशिला खडा गर्ने काम निर्वाचनले गरेको छ । संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभीमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं समृद्ध नेपाल बनाउन तीनै तहको निर्वाचन कोषेढुंगा सावित भएको छ । सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुले अत्यन्त उत्साह, संयम र धैर्यताका साथ आफ्नो मत दिनु भएको छ । निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले नेपाली कांग्रेसलाई थप प्रेरणा मिलेको छ ।’

केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गरी संविधान कार्यान्वयनका लागि निर्वाह गरेको नेतृत्वदायी भूमिकाका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारलाई हार्दिक धन्यवाद पनि दिएको छ ।

माघ ४ गतेदेखि प्रारम्भ केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसका सभापति एवं  प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको प्रारम्भमा ३ वुँदा प्रस्तुत गरेका थिए ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली कांग्रेसकै नेतृत्वमा पुरा भएको बताउदै भने, ‘संविधान निर्माणपछि अन्ततः तराई–मधेशमा उत्पन्न समस्यालाई समाधान गरि, निर्वाचनको प्रकृयामा सवै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेस नेतृत्वको सरकार र सिंगो कांग्रेस पार्टीको सफलता हो भन्ने मेरो ठहर छ । लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि प्रधानमन्त्री एवं पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र साथीहरुमा बधाई ज्ञापन गर्न चाहन्छु ।’

कांग्रेस सभापति देउवाले निर्वाचनमा पार्टीले आशातीत सफलता प्राप्त गर्न नसकेको यथार्थ स्वीकार गर्दै त्यस्को व्यापक रुपले गम्भीर ÷छलफल एवं अन्तरकृया गरी खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गरे ।उनले निकट भविष्यमा पार्टीको महासमितिको वैठक वस्ने बताउदै राज्यको नयाँ संरचना अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्त सञ्चार हुने गरि पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले नीतिगत र वैधानिक दिशा निर्देश गर्ने बताए ।

उनले मुलुकको संविधान अनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन देखि पार्टीका सवै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरुलाई थप सुदृढ, गतिशील र सशक्त बनाउनका लागि नयाँ योजना र कार्यक्रमहरुका साथ हामी अघि बढ्ने पनि बताएका थिए ।

कांग्रेस सभापति देउवाले माघ २४ गतेका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी, मनोनयन दर्ता यही माघ १० गते हुन लागेको सन्दर्भमा, हामीले तत्कालै उम्मेदवारी चयन र चुनावको तयारीमा केन्द्रीत हुनु पर्ने भएकोले यसमा महत्वपूर्ण रायसुझाव मागेका थिए ।

बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, एन.पी.साउँद, उमाकान्त चौधरी, भीष्मराज आङ्देम्वे, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, सिता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, किरण यादव, सरिता प्रसाई, हरिप्रसाद नेपाल, अतहरकमाल मुसलमान, विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदार, आमन्त्रित सदस्यहरु— बालकृष्ण पाण्डेय, हसन अन्सारी र नरेन्द्रकुमार चौधरीले आफ्नो धारणा राखेका थिए ।

Share Now

Leave a comment.