काठमाडौं, २० चैत्र । बैंक अफ काठमाण्डू लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको कोरोना कोषलाई १ करोड रुपैंया दिने भएको छ ।
बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा ६५ लाख रुपैया र सात वटै प्रदेशको राहत कोषमा ५ ।५ लाख रुपैयाका दरले ३५ लाख गरी १ करोड रुपैयाको योगदान गर्ने निर्णय लिएको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो ।
यस अगाडि नै बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले आफ्नो एक महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा दिने निर्णय गरिसक्नु भएको थियो ।
बैंकले आफूले दिएको सहयोगले केन्द्र सरकार र प्रदेश सरकारलाई कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने उपाय अपनाउन, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग विश्वास लिएको छ ।
लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले लकडाउनको समयमा पनि एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोगलाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको छ ।


















