काठमाडौं, २२ चैत्र । सरकारले स्थानीय तहहरुबीचको आवागमनमा पनि रोक लगाउने निर्णय गरेको छ ।
अब एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको, एक प्रदेशबाट अर्को प्रदेश तथा एक जिल्लाबाट अर्को जिल्लाको आवागमनमा रोक हुनेछ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि एवम् अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिनुभएको हो ।
सरकारले स्वास्थ्यकर्मीलाई बीमा, प्रोत्साहन भत्तासँगै स्वास्थ्य सुरक्षाका उपकरण प्रोटोकलका आधारमा उपलब्ध गराउने निर्णय गर्दै उनीहरुको सुरक्षामा आँच पुर्याउन खोज्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ।
शनिबारको मन्त्रिपरिषद्को बैठकले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन गर्ने समितिको विज्ञ व्यक्तिका रुपमा रवीन्द्र भट्टराई र कुन्साङ लामा तथा अपराध पीडित संरक्षण समितिमा डा. शंकर श्रेष्ठलाई नियुक्त गरेको छ ।


















