Prakash Adhikari April 11, 2020

 

लण्डन(संयुक्त अधिराज्य), २९ चैत्र (बीबीसी) ।ब्रिटेनका चिकित्सकहरूको सङ्गठनले उसका कैयन् सदस्यहरूले कोरोनाभाइरसका बिरामी जाँच्न आवश्यक सुरक्षा सामग्री नपाएको जनाएको छ।

ब्रिटिश मेडिकल एसोसिएसन बीएमएले चिकित्सकहरूले तिनका जीवन जोखिममा पारिरहेको बताएको छ।

कठिन परिस्थिति

शुक्रवार स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले सबैका निम्ति पर्याप्त सामग्री भएको भन्दै अभाव पूर्तिका निम्ति योजना सार्वजनिक गर्नुभएको थियो।

बेलायतभरिका अस्पतालमा शुक्रबार एकै दिनमा ९ सय ८० जनाको ज्यान गएको थियो।

त्यहाँ कोरोनाभाइरस सङ्क्रमणले मर्नेको सङ्ख्या झन्डै ९,००० पुगेको छ।

मृतकको उक्त सङ्ख्यामा समुदायमै वा आश्रयगृहहरूमा ज्यान गुमाएकाहरू जोडिएको छैन। तर यो सङ्ख्या इटली र स्पेनमा सङ्क्रमण अत्यन्त खराबस्तरमा पुगेका बेलाका दैनिक मृत्यु सङ्ख्याभन्दा बढी भइसक्यो।

इङ्ग्ल्यान्डका उपप्रमुख स्वास्थ्य अधिकृत जोनाथन भ्यान-ट्यामले ‘सङ्क्रमण उच्चतम विन्दुमा पुगिसक्यो’ भनिहाल्न असम्भव भएको बताउनुभएको छ। सामाजिक दूरीजस्ता उपाय जारी राखिनुपर्ने उहाँले बताउनुभयो।

यसबीच लन्डन तथा योर्कशायरमा व्यक्तिगत सुरक्षा सामग्री पीपीईको आपूर्ति ‘खतरनाक स्तरमा कम’ रहेको बीएमएले जनाएको छ।

बीएमएका काउन्सील अध्यक्ष डा चाँद नागपालले चिकित्सकहरूलाई अप्ठेरो अवस्थामा पुर्‍याइएको भन्दै उनीहरूसामु उचित सुरक्षाविना नै काम जारी राख्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा पुर्‍याइनु अति नै कठिन हुन्छ। अन्ततस् यसको जिम्मेदार भनेको उचित सामग्रीको आपूर्तिमा सरकारको विफलता नै हो।’

‘अमूल्य स्रोत’

बीबीसीका स्वास्थ्य सम्पादक ह्युग पाइम भन्नुहुन्छ, कतिपय एनएचएसका तथा सेवा कर्मचारीहरूले सुरक्षा सामग्री नपाएको र असुरक्षित अनुभव गरेको बताउनुभएको छ।

बीबीसी सम्वाददाताले स्वास्थ्यमन्त्री ह्यान्ककलाई सरकारको योजना अपर्याप्त रहेको मान्नुहुन्न भनी प्रश्न गर्नुभएको थियो।

उहाँले यो विषय चुनौतीपूर्ण भएको तर सरकारले दशौँ लाख सुरक्षाका सामग्री वितरण गरेको बताउनुभयो।

शुक्रवार डाउनिङ्ग स्ट्रीटमा बोल्दै उहाँले मास्क, पञ्जा तथा एप्रोनहरू आवश्यक पर्ने ठाउँमा मात्र प्रयोग गर्न भन्नुभयो।

‘हामीसँग पर्याप्त पीपीई छ। तर हामीले दिएको निर्देशानुसार प्रयोग गरिएमात्रै त्यो पर्याप्त हुन्छ। पीपीईलाई अमूल्य स्रोतका रूपमा प्रयोग गरिनुपर्छ’,उहाँले भन्नुभयो।

तीव्र मृत्युदर

अहिले नै यूकेमा कोरोनाभाइरसले दैनिक मर्नेको सङ्ख्या इटली र स्पेनमा उच्चतम विन्दुमा पुगेको भन्दा धेरै भइसक्यो।

इटलीको दैनिक उच्च विन्दु ९ सय ६९ र स्पेनको ९ सय ५० पुगेको थियो।

यी दुई देशमा केही दिनयता दैनिक मृत्यु हुनेको सङ्ख्या लगातार कम भइरहेको छ।

तर यूकेमा केही दिन यता दैनिक मृत्युको सङ्ख्या १ हजार नजिक पुगिरहेको छ। रिपोर्ट नगरिएका मृत्यु पनि जोड्ने हो भने वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने ठानिएको छ।

तर यूकेमा इटलीका अस्पतालहरूले भोगेको जस्तो अवस्था एनएचएसलाई परेको छैन।

शायद एनएचएससँग धेरै क्षमता तथा सघन उपचारका निम्ति थप शैय्याहरू थिए।

स्वास्थ्य सम्वाददाता फिलिपा रक्सबी भने युकेमा अपनाइएको सामाजिक दूरीका नियमहरूका कारण आगामी साताहरूमा इटली र स्पेनका लकडाउनका जस्तै परिणाम देखा पर्नेछन् र मृत्युको सङ्ख्या घट्नेछ।

Share Now

Leave a comment.