मन्ट्रियल(क्यानाडा), ३० चैत्र । क्यानाडाको संसद्ले दोस्रो विश्वयुद्धपछिकै देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा वेतन अनुदान कार्यक्रम पारित गरेको छ ।
उद्योगधन्दा, व्यवसाय र तिनमा कार्यरत कामदारलाई कोरोना भाइरस संकटबाट जोगिन उक्त कार्यक्रमले मद्दत गर्ने क्यानाडा सरकारले बताएको छ ।
क्यानाडाको संसद् हाल स्थगित छ, तर इस्टर सप्ताहन्तको मध्यमा बसेको संसद्को असाधारण सत्रले करिब ५२ अर्ब अमेरिकी डलरको राहत प्याकेजका कार्यक्रम स्वीकृत गरेको हो ।
कर्मचारी कटौतीको समस्या समाधान गर्न विभिन्न निजी उद्योगधन्दा र कम्पनीमा कार्यरत कर्मचारीको तलबको ७५ प्रतिशत रकम सरकारले व्यहोर्नेछ ।
प्रधानमन्त्री जस्टिन टुर्डोले उक्त कार्यक्रम पारित गर्ने संसद् अधिवेशनमा भाग लिनुभएको थियो । आफ्नी पत्नीलाई कोरोना भाइरस संक्रमण देखिएपछि प्रधानमन्त्री जस्टिन एक महिनाका लागि घरमा नै एकान्तबासमा रहनुभएको थियो ।
कोरोना संकट उत्पन्न भएयता यो दोस्रो आर्थिक सहयोग विधेयक हो । पछिल्लो विधेयकको मुख्य उद्देश्य नै “क्यानाडालीहरुलाई आफ्नो जागिर जोगाइ राख्न र तलब पाउने सुनिश्चित गराउनु हो,” प्रधानमन्त्रीले भन्नुभयो, “यो दोस्रो विश्वयुद्धपछि क्यानाडाको सबैभन्दा ठूलो आर्थिक प्याकेज हो ।”
अर्थमन्त्री बिल मोरेनोले यो तलबी आर्थिक प्याकेज ३ महिनाका लागि रहेको बताउनुभएको थियो । क्यानाडामा गत महिना १० लाखभन्दा बढीको रोजगारी गुमेको थियो । क्यानाडामा शनिबारसम्ममा २३ हजार १ सय ९७ जना कोरोना भाइरस संक्रमित हुनुका साथै ६ सय ७८ जनाको ज्यान गएको छ । (रासस)


















