लण्डन(संयुक्त अधिराज्य), १ बैशाख (बीबीसी) । कोरोनाभाइरस संक्रमणको उपचार गरेर अस्पतालबाट डिस्चार्ज भएपछि बेलायतका प्रधामन्त्री बोरिस जोनसनले ‘मलाई जे पनि हुन सक्थ्यो’ भन्नुभएको छ।
आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उहाँले धन्यवाद दिनुभएको छ।
कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
बिहीवार वार्डमा सारिनुअघि उहाँले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताउनुभएको थियो।
जोखिम
सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा प्रधानमन्त्री जोनसनले अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले ूव्यक्तिगत साहसू देखेको बताउनुभएको छ।
प्रधानमन्त्री जोनसनका अनुसार न्यूजिल्यान्डकी जेनी र पोर्चुगलकी लुइस नर्सले उहाँको सबैभन्दा गम्भीर ४८ घन्टा सेवा गरेका गर्नुभएको थियो।
उहाँले अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ।
राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीकी प्रेमिका पनि हाल एकान्तवासमा हुनुहुन्छ
‘त्यो साहस, त्यो समर्पण, त्यो जिम्मेवारी र मायालाई धन्यवाद जसका कारण हाम्रो राष्ट्रिय स्वास्थ्य सेवा अजेय छ’,प्रधानमन्त्री जोनसनले भन्नुभएको छ।
प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले आफ्नो निवासमा आराम गर्ने जनाएको छ।
‘आफ्ना चिकित्सक टोलीको सुझाव अनुसार प्रधानमन्त्री तत्काल काममा फर्किनु हुने छैन। उहाँले सेन्ट टमसेज अस्पतालमा पाएको उत्कृष्ट हेरचाहका लागि सबैलाई धन्यवाद दिन चाहनुभएको छ।यो रोगबाट प्रभावित सबैप्रति उहाँको सहानुभूति छ।’
शनिवार साँझ पाँच बजेसम्म कोरोनाभाइरसका कारण यूकेमा थप ७ सय ३७ जनाको ज्यान गएको छ।
योसँगै त्यहाँ कोभिड-१९ रोगबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या १० हजार ६ सय १२ पुगेको छ।
स्वास्थ्यमन्त्री म्याट हान्ककले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेको खबरबाट ‘आनन्द महसुस भएको’ बताउनुभएको छ ।
स्वास्थ्यमन्त्रीले भन्नुभएको छ , ‘सेन्ट टमसेज अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रधानमन्त्रीको हेरचाह ूत्यसरी नै गरेका छन् जसरी देशका अरू मान्छेहरूलाई गर्थे।’
प्रधानमन्त्रीलाई काममा फर्किन अझ कति समय लाग्न सक्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यसबारे चिकित्सकहरूले निर्णय दिनुपर्ने हुन्छ।प्रधानमन्त्रीले तय गर्नुभएकै रणनीति अनुसार सरकारले काम गरिरहेको अवस्था छ।”
विदेशमन्त्री डोमिनिक राबले हाल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएको छ।
उहाँका सहयोगीहरू चाहन्छन् कि प्रधानमन्त्री जोनसन एक महिनासम्म नियमित काममा नफर्किऊन्।
बीबीसीकी राजनीतिक संवाददाता जेसिका पार्कर भन्नुहुन्छ, अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री काममा फर्किन हतार नगर्ने हामीले पहिल्यै सुनेका थियौँ।


















