काठमाडौं, १५ आषाढ । अर्थतन्त्रको मापक मानिने सेयर बजार आजदेखि खुल्ने भएको छ । धितोपत्रको दोस्रो बजार सञ्चालनको जिम्मा पाएको नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)को आइतबार बसेको सञ्चालक समितिको बैठकले आजदेखि बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको आइतबार बसेको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गते देखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेर सो अनुरुप निर्देशन दिएपछि बसेको नेप्सेको सञ्चालक समितिको बैठकले आजदेखि बजार खोल्ने निर्णय गरेको थियो ।
नेप्सेले कारोबार ५ घण्टाबाट घटाएर ४ घण्टा बनाउने निर्णय गरेको छ । अब बजार बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म चल्ने छ भने अन्य व्यवस्थाहरु लकडाउन पहिलेको अनुरुप नै हुने छ ।

यता धितोपत्र बोर्डले भने बजार सञ्चालनका सम्बन्धमा नेप्से र बजार सहभागीहरुलाई ६ बूँदे निर्देशन जारी गरेको छ ।
बोर्डले कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड १९ सुरक्षाका उपाय पालना गर्न निर्देशन दिंदै धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइए कारबाही गर्ने पनि जनाइएको छ ।
बोर्डले ब्रोकरहरुलाई पनि घरबाटै शेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गर्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ ।
धितोपत्र बोर्डले अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूलाई स्क्रीन रूम सञ्चालन नगर्न पनि निर्देशन दिएको छ ।
कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार बैशाख ३० र ३१ गते खुलेको थियो । तर दुवै दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।
लकडाउनका बीचमा वैशाख ३० र ३१ गते खुला गर्दा देखिएका व्यबहारिक समस्याहरु समाधानका पहल भएपछि अहिले खुला गर्न लागिएको हो ।
बजार खुला गर्ने निर्णय गर्नुपूर्व बोर्डको नेतृत्वमा गत साताको आइतवार बजार सम्वद्ध सरोकारवाला निकायहरुहरु सम्मिलित अध्ययन समिति गठन भएको थियो ।
उक्त समितिले बजार सुचारु गर्न सुझाब दिएसँगै बोर्डले सोमवारदेखि खुला गर्ने निष्कर्ष निकालेको हो ।



















