Prakash Adhikari June 29, 2020

काठमाडौं, १५ आषाढ । नेपालमा प्राण घातक कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १३ हजार माथि पुगेको छ ।

विगत २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै सङ्क्रमितको कुल सङ्ख्या १३ हजार २ सय ४८ पुगेको छ।

सोमबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्का एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ।

नेपालका संक्रमित मध्ये ३ हजार १ सय ३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ८५ छ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

सङ्क्रमितहरूमा युवा र पुरुषको सङ्ख्या अधिक छ।

आइतवार ४ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत असार ४ गते एकै दिन सर्वाधिक ६ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार ७ सय ९१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण २ हजार १ सय ४२ गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २ लाख २३ हजार ६ सय ३० पुगेको छ।

क्वारेन्टाइन भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


  • असार १५ गते सोमवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
  • १३,२४८ कुल सङ्क्रमण
  • ७७ प्रभावित जिल्ला
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ७,७९१
  • चिकित्सकीय निगरानीमा अलग्गै १०,०८५
  • देशभरि क्वारेन्टाइनमा ५७,३६८
  • अहिलेसम्म निको ३,१३४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले देशभरि ५७ हजार भन्दाबढी व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम, प्रदेश नं ५, कर्णाली र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।

Share Now

Leave a comment.