Prakash Adhikari July 21, 2020

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र प्रमुखको रुपमा पदीय जिम्मेवारी वहन गर्न र मर्यादा कायम गर्न नसक्नुभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस (वी.पी)ले आफ्नो केन्द्रीय कार्यालय सामाखुसीमा ३८ वी.पी.स्मृति दिवसको उपलक्ष्यमा आयोजना गरेको विचार गोष्ठीलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली कांग्रेसभित्र गणतन्त्र र राजतन्त्रको पक्ष र विपक्षमा कार्यकर्ताहरु अझै विभाजित रहे पनि आफू व्यक्तिगत रुपमा गणतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तर गणतन्त्रलाई मर्यादित गर्न हामीले स्थापना गरेका राष्ट्रपतिको संस्थालाई वर्तमान राष्ट्रपतिले मर्यादित बनाउन सक्नुभएको छैन ।”

राष्ट्रपतिमा निर्वाचन गर्दा कुनै पार्टीले प्रस्तावित गरे पनि राष्ट्र प्रमुखको रुपमा निर्वाचित भएर सपथ लिइसकेपछि उहाँले पार्टीको दायराबाट माथि उठेर संविधानले निर्दिष्ट गरेको समग्र राष्ट्र र संविधानको परिपालक तथा संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै कांग्रेस नेता गिरिले वर्तमान राष्ट्रपति त्यसमा चुकिरहनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले ल्याएका कतिपय प्रस्तावहरु सत्ता स्वार्थ, पार्टी स्वार्थ र व्यक्तिगत लाभहानीबाट प्रेरित हुन्छन, यस्तोमा आफ्ना वैधानिक सल्लाहकार र राज्यको सर्वोच्च अदालतसम्मको राय सुझाव आवश्यक पर्न सक्छ तर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेश लानुभयो,आखा चिम्लेर हस्ताक्षर गर्नुभयो, संविधान निर्माता र संविधानको अक्षर र भावना विपरीत संवैधानिक परिषद्मा विपक्षी दलको उपस्थिति बेगर पनि पदाधिकारी गर्न सक्ने अध्यादेशको मस्यौदा लानुभयो, त्यसमा पनि हस्ताक्षर गरिदिनुभयो ।”

समाजवादी चिन्तक गिरिले राष्ट्रपति भण्डारीले राजा विरेन्द्रले जत्तिको राष्ट्र प्रमुखको जिम्मेवारी निर्वाह गर्न नसक्नु भएको पनि आरोप लगाउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा निम्त्याइनुभएका सांसद गिरिले राष्ट्रपतिको भूमिकाका बारेमा र सरकारले गरेका गल्ती कमी कमजोरीका बारेमा छलफल गर्न नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष हुँदा समेत तयार नभएको आफ्नै पार्टीको समेत आलोचना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले संघीय र प्रादेशिक सभाको निर्वाचनको परिणाम आएर राष्ट्रिय सभाका सांसदहरुको निर्वाचन सकिएपछि तात्कालीन सरकारका तर्फबाट राष्ट्रपतिका तर्फबाट मनोनित गर्ने तीन जना राष्ट्रिय सभाका सदस्यहरुको नाम सिफारिस गरिएकोमा त्यसलाई महिनौसम्म अलपत्र पारेर नयाँ प्रधानमन्त्री नियुक्ति भएपछि उहाँको मन्त्रिमण्डलले सिफारिस गरेका नयाँ तीन जनालाई तुरुन्तै राष्ट्रिय सभाको सदस्य नियुक्त गर्नुभएको थियो ।

सो मुद्दा अदालतमा चलिरहेको भएपनि नेपाली कांग्रेसले यसलाई राजनीतिक मुद्दाको रुपमा उठाउन छोडेको छ जबकी नेपाली कांग्रेसको मुख्य सचिव कृष्णप्रसाद पौडेल नै राष्ट्रपतिका गैरसंवैधानिक कदमबाट घाइते हुनुभएको छ ।

 

नेपाली कांग्रेसको नेतृत्वले लिएका नीतिबाट असन्तुष्ट भई हरिबोल भट्टराईको नेतृत्वमा राजनीतिक दलको रुपमा दर्ता भएको नेपाली कांग्रस वी.पी.लाई एकै नेता बी.पी.का विचारबाट अनुप्राणित भएकोले मूल कांग्रेसमा समाहित हुन आग्रह गर्दै सांसद गिरिले २०१५ सालको निर्वाचनमा कार्यकर्ताहरुमा टिकटका लागि तछाड मछाड हुँदा बी.पी.ले बाग्लुड.का ओमकारप्रसाद गौचनलाई लेख्नुभएको निकै मार्मिक पत्रको बारेमा उल्लेख गर्नुभयो ।वी.पी.ले राजनीतिमा लागेको मान्छेलाई सबैकुरा त्याग गर्न सक्ने जोगीको रुपमा प्रस्तुत गर्दै “जस्तोसुकै अवस्थामा पनि पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्दछ,आफ्ना पक्ष र विपक्षका नेता कार्यकर्तालाई आफ्नो विचार र तर्कले सहमत गराउनु पर्दछ । पार्टीबाट बाहिर बसेर पार्टीमा सुधार ल्याउन सकिदैन “भनेर बाहिर गएकालाई भित्र ल्याउन गर्नुभएको आह्वानको प्रसंग निकालेर सांसद गिरिले नेपाली कांग्रेस वी.पी.लाई ससम्मान मूल कांग्रेसमा समाहित हुन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा नेपाली कांग्रेसले आफूले अवसर पाएको समयमा समाजवादी कार्यक्रम ल्याउन नसकेकोले निमुखा,भोका, विपन्न नेपालीहरु कम्युनिष्टहरुको सपनाको पछाडि पुगेको उल्लेख गर्दै अव प्रजातान्त्रिक समाजवादीहरुलाई समेट्न विशेष पहल गर्नुपर्ने आवश्यकता देखिएको पनि बताउनुभयो ।

नेता गिरिले नेपाली कांग्रेस वी.पी मात्रै होइन, जनता समाजवादी, राप्रपा, साझा, विवेकशील जस्ता लोकतान्त्रिक शक्तिहरुलाई एकै ठाँउमा ल्याउन आवश्यक भएको पनि बताउनुभयो ।

“२०६२ /६३ सालको शान्तिपूर्ण जन आन्दोलनमा आन्दोलनकारीहरुले राजाको स्पेस राखेका थिए तर राजाले बुझ्न सक्नुभएन । गिरिजाबाबुले सेरेमोनियल र बेवि किंगको कुरा ल्याउनुभयो ।” , राष्ट्र प्रमुखहरुले विवेक पुर्याउन नसक्दा संस्था र राजनीतिक व्यवस्था नै गएको प्रसंग उल्लेख गर्दै भन्नुभयो, “भारतका नेताहरुसंग सम्पर्क गर्न खटाइएका प्रभाकर समशेर जवरामार्फत तात्कालीन भारतीय जनता पार्टीका नेता तथा विपक्षी दलका नेता अटल विहारी बाजपेयीले लिखित पत्रमा पठाएर राजसंस्था जादैन तपाईं संरक्षक बस्न उचित हुनेछ, विपक्षी दलको नेता भएपनि पूर्वप्रधानमन्त्री भएकोले भारतबाट हुनसक्ने सहयोग म गर्छु भनेर प्रत्याभूति दिदा समेत त्यसको मर्म नबुझेर सहयोगीका रुपमा खटिएका प्रभाकर सम्सेरलाई भेटघाटको ढोका बन्द गरिदिएकोले राजतन्त्र उन्मूलन हुन गयो ।”

नेता गिरिले अहिले वर्तमान संविधान जाँदा, यसले स्थापित गरेका संस्थाहरु कमजोर हुँदा देश विग्रहमा जाने र अराजक स्थिति सिर्जना हुने बताउदै यो संविधानले स्थापना गरेका संस्थाहरु बचाउन र संस्थाका नेतृत्व गर्नेहरुलाई सच्याउन विपक्षीहरुले दवाव दिनुपर्ने पनि बताउनुभयो ।

नेपाली काग्रेस वी.पी.का सभापति हरिबोल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा मालेका पोलिट व्यरो सदस्य कुमार श्रेष्ठ ,नेकपा सयुक्तका मधु वी सी मल्ल, नेपाल प्रजातान्त्रिक पार्टीका राजेश्वर श्रेष्ठ ,सर्वहारा कम्नियुष्ट माओवादीकी भावना विद्रोही लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुले वी.पी.को समाजवादको चर्चा गर्नुभएको थियो ।

Share Now

Leave a comment.