प्रकाश अधिकारी
काठमाडौं, १४ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र नेतृत्वको विवाद उत्कर्षमा पुगेको छ । पार्टीको संगठनलाई गतिदिन र समयको माग तथा जनताको चाहना अनुरुप कल्याणकारी कार्य गर्दै सरकारलाई लोकप्रिय बनाउन दीर्घ रोगले गाँजिएर बालुवाटार र सिंहदरबार बाहेक मुलुकका कँहि पनि निस्कन सक्ने अवस्थामा नरहनुभएका पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई दुवै पदबाट विदा दिएर गतिशील व्यक्तिले नेतृत्व गर्नुपर्दछ भन्ने मत दिनानुदिन बलियो हुँदै गएको छ ।
पार्टीभित्रका अधिकांश नेता र कार्यकर्ताको चाहना अनुरुप पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीको आत्मबोध र सहमतिमा नै यो कार्य हुन सकोस भन्ने चाहनालाई मूर्त रुप दिन खोज्दा पार्टीको छवि र साखः जनताबीचमा स्खलित हुँदै गएको यथार्थ नेकपाका नेताहरुले खुलेर गर्न थाल्नुभएको छ ।
प्रधानमन्त्री ओली अनुपस्थित रहेको मंगलबारको स्थायी समितिको बैठकमा नेकपाका नेता डा. भीम रावलले निकै मार्मिक ढंगले यो विषयको उठान गर्नुभएको थियो ।उहाँले भन्नुभएको थियो, “यो स्थायी कमिटीको बैठक असार १० गतेदेखि आजसम्म यति लामो समयसम्म बस्दाखेरि पनि बैठकले कुनै पनि निर्णय गरेन । बैठकमा राम्रोसँग छलफल भएन । यसले हाम्रो पार्टीको क्षमता जनता र सबैका अगाडि हाम्रो विश्वसनीयतामाथि नै चोट पुर्या एको छ । र, बाहिर मुख देखाउन नसकिने स्थिति भएको छ ।”
उहाँले आफ्नो तर्कलाई यसरी पुष्टि गर्नुभएको थियो ,”सरकारले अध्यादेश ल्याएका बेलामा हामी २० जना स्थायी कमिटीका सदस्यहरुले हस्ताक्षर गरेर पार्टी विधानको धारा ४९ को ४ अनुसार बैठकको माग गर्यौं । विधान अनुसार माग गर्दा पनि बैठक बोलाइएन । अहिले पनि बैठकका कार्यसूचिहरुमा प्रवेश नगर्ने, त्यसमा छलफल नगर्ने र नटुंग्याउने कुरा यो उचित भएन । बैठकमा छलफल गर्ने र निर्णयमा पुग्ने काम गर्नुपर्छ ।”
ओलीकै निवासमा ओलीविरुद्ध प्रस्ताव
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रथम अध्यक्ष के.पी. शर्मा ओलीको सरकारी निवासमा उहाँद्धारा स्थगित भएको सूचना सार्वजनिक भएपछि आरम्भ भएको बैठकले प्रधानमन्त्रीकै विरुद्धमा प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्रीको सोंच,शैली,अभिव्यक्ति र ब्यबहारबाट वाक्क,ब्याक्क र दिक्क भएका सत्तारुढ स्थायी समितिका बहुमत(४५ सदस्यीय समितिका २९ जना सदस्य र २ जना आमन्त्रितसहित ३१ जना)ले हिजोको बैठकबाट प्रधानमन्त्री ओलीविरुद्ध प्रस्तावै पारित गरेका छन् ।
आफ्नै पार्टीका सहअध्यक्ष, अग्रज शीर्ष नेता र सहकर्मीहरुलाई आफ्नो कार्यक्षमतामा प्रश्न उठाएकोमा विदेशी शक्तिका एजेण्ट अर्थात दलालको संज्ञा दिई देशव्यापी रुपमा बद्नाम गराउन राज्य शक्तिको चरम दुरुपयोग गर्नुभएका प्रधानमन्त्री ओलीका विरुद्धमा स्थायी समितिको बहुमत सदस्यले प्रधानमन्त्री ओलीको विरुद्ध जुन प्रस्ताव पारित गरेका छन् त्यसको राजनीतिक र सांकेतिक मूल्य निकै ठूलो छ ।
उक्त प्रस्तावमा भनिएको छ,”स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष कामरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय यो बैठकले गरेको छ । त्यसका साथसाथै आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्या उनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान गर्दछ ।”
स्थायी समितिको बैठकलाई निरन्तरता दिने निर्णय भएपछि पनि प्रधानमन्त्री ओली विरोधी समूहले अझै सहमतिको प्रयास छोडेको छैन । प्रधानमन्त्री ओली अनुपस्थित हिजोको स्थायी समितिका बहुमत सदस्यहरुको बैठकले विषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखि अर्का अध्यक्ष कमरेड ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने जुन निर्णय गरेको छ, त्यसले प्रधानमन्त्री ओली विरोधी समूहको नेतृत्वमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डप्रति अटुट विश्वास रहेको संकेत गर्दछ ।
ओलीका कुतर्क काम नलाग्ने
मंगलबार प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पनि जसरी बहुमत सदस्यहरुको सहभागितामा बैठक सम्पन्न भयो,त्यसले अब प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष के.पी. शर्मा ओलीको असहयोग भएपनि पार्टीको सांगठानिक गतिविधि सञ्चालन गर्न अर्को समूहका नेताहरु पछाडि नहट्ने संकेत दिएको छ ।
पार्टीका सहअध्यक्ष र शीर्ष नेताहरुले स्थायी समितिको हाउसले तय गरेका एजेण्डा मध्ये कोरोना भाइरस संक्रमणको महामारीमा छलफल गरौ त्यसपछि पार्टीको सचिवालय बैठकबाट थप विषयमा छलफल र सहमतिको प्रयास गरौंला भन्ने प्रस्तावलाई लत्याउदै एकल निर्णयका आधारमा स्थायी समितिको बैठक स्थगित गर्नुभएका प्रधानमन्त्री ओलीले मंगलबारको बैठकले आफूलाई हटाउने सूचना पाएकोले आफूले बैठक स्थगित गरेको जिकीर गर्नुभएको थियो ।
https://www.facebook.com/surya.thapa.754918/posts/3194466347312514
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बीबीसी नेपाली सेवासंग अन्तै बैठक बसेर एजेण्डा र कार्यसूची बनाएर बैठकको निर्णय लेखेर आउन खोजेपछि दुईजना अध्यक्षबीच परामर्श र गृहकार्य बाँकी छ भनेर बैठक स्थगित गरिएको जिकीर गर्नुभएको छ । उहाँका अनुसार सोमवार र मङ्गलवार भेट्ने भनिएको थियो तर बैठक सुरुहुने अन्तिम समयसम्म प्रचण्ड नआएपछि बैठक स्थगित भएको हो।
तर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डका अनुसार उहाँले केही मन्त्रीसहित स्थायी समिति सदस्यहरुसंग आफ्नो निवासमा मंगलबार बिहान छलफल गरिरहदा प्रधानमन्त्री ओलीको फोन गयो र मंगलबारको बेठक स्थगित गर्नुपर्ने प्रस्ताव गयो । जवाफमा प्रचण्डले सो दिनको बैठकमा कोरोनाको संकटका विषयमा छलफल गरेर त्यसपछि सचिवालयको बेठक राखी बाँकी विषयमा सहमति कायम गर्दै छलफलमा जाने प्रस्ताव राख्नुभयो र मंगलबारको बैठकका विषयमा छलफल गर्न आफू बालुवाटार आउने बचन दिनुभयो । तर उहाँ बालुवाटार आउदा बाटैमा प्रधानमन्त्रीका प्रेससल्लाहकार सूर्य थापाले बैठक स्थगित गरिएको सूचना जारी गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक बसिरहेको बेलामा झूटो बोलेर पार्टी पडि.तलाई निस्क्रिय पार्न चाल्नु भएको यो एकल कदम थिएन । यस पहिले स्थायी समितिको बैठक बालुवाटारमा बसिरहेकै बेला बालुवाटारको आफ्नो सरकारी निवासको बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक राखेर पार्टीका सहअध्यक्ष,शीर्ष नेताहरु,सचिवालय सदस्यहरु,संघीय संसदको प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसंग कुनै परामर्श नै नगरिकन संसदको बजेट अधिवेशन अन्त्य गराउन राष्ट्रपतिमा सिफारीस गर्नुभएको थियो । त्यति खेर उहाँले राष्ट्रपति विरुद्ध महाभियोग लगाउने सूचना पाएकोले हठात संघीय संसदको अधिवेशन बन्द गर्ने सिफारिस गरिएको तर्क दिएर उक्निुभएको थियो ।
स्थायी समितिको बैठक सुरु भएपछि तात्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव मदन भण्डारीको जन्म जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले आफूलाई भारतले हटाउन खोजेको र पार्टीभित्रैका नेताहरु त्यसको मतियार भएर खुला रुपमा लाग्नुभएको गम्भीर आरोप लगाउनु भएको थियो ।
प्रधानमन्त्री ओलीको सोही अभिव्यक्तिका कारण नेकपाको स्थायी समितिको बैठक निधारित एजेण्डाबाट बहकिन पुग्यो भने संघीय संसदको बजेट अधिवेशन स्थगित गर्ने सिफारिससंगै सहमतिको नाममा निरन्तर स्थगित गर्नुपर्ने अवस्थामा पुग्यो ।
निर्णय लिन्छ त स्थायी समितिले ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरु जारी स्थायी समितिको बैठकलाई निर्धारित एजेण्डामा छलफल गराएर पार्टीको संगठन मजवूत बनाउन र संगठनलाई गति दिन ढिलाई गर्न नहुने मनस्थितिमा पुगेका छन् । ३ करोड नेपालीको जीवनको सुरक्षा लिने प्रधानमन्त्री आफ्नै पार्टीका ४५ जनाको सानो स्थायी समितिको बैठकको सामना गर्न नसक्ने अवस्थामा पुगेपनि उहाँलाई समेत विश्वासमा लिएर पार्टीलाई अगाडि बढाउने प्रयास भने ओली इतर समूहले छोडेको छैन् । यसका लागि मंगलबारको बैठकले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको पनि छ ।
तर जसरी आषाढ १० देखि सुरु भएको स्थायी समितिको बैठकलाई निस्प्रभावित बनाउन प्रधानमन्त्रीले बैठक वहिष्कार गरेर पार्टीका नेताहरुलाई बाहिरबाट तीर चलाएर घाइते बनाइरहुनुभएको छ, त्यो हेर्दा उहाँ सहजै बैठककक्षमा प्रवेश गरेर आफूले पार्टीको प्रथम अध्यक्ष तथा नेपाल सरकारको प्रधानमन्त्रीको रुपमा सम्हालेका दुई अत्यन्त जिम्मेवारीपूर्ण पदहरुमा रहदा आफूले गरेका कमी कमजोरी सुन्न र त्यसलाई सच्याउन तयार हुनुहोला भन्ने अनुमान गर्न कठिन भएको छ ।
प्रधानमन्त्रीले स्थायी समितिलाई पंगु बनाउने रणनीति लिनुभए के हुन्छ भन्ने प्रश्नको जवाफ स्थायी समितिका सदस्य तथा नेता युवराज ज्ञवालीले सांकेतिक रुपमा दिइसक्नुभएको छ । उहाँका अनुसार सहमतिका लागि अधिकतम् प्रयास गर्ने र सहमतिमा नआए अर्को बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ। गतिशील कम्युनिष्ट पार्टी अनिर्णयको बन्दी बनिरहन सक्दैन ।
उहाँले भन्नुभएको छ,” पार्टी फुटाउँदा सबैभन्दा धेरै केपी ओलीले गुमाउनु हुन्छ । अहिले पाइरहनु भएको छ नि सत्ताको स्वर्ग, त्यो त सबै गुम्छ । फुटको हतियार देखाएर सत्ता टिकाउने खेल हो । अर्कोतर्फ लडाइँ कमजोर पार्न उहाँले त्यसो गर्नु भएको हो । ’
उहाँले स्थायी समितिको बैठक जारी रहेको बताउदै भन्नुभएको छ, “अझै सहमतिका लागि अन्तिम प्रयत्न गर्ने हो । तर, केपी ओलीले कुनै हालतमा मान्दै मान्नु भएन भने स्वतस् बैठक बस्छ । ठिलोचाँडो औपचारिक निर्णय गर्छ ।”
पार्टी नेता डा.भीम रावलले पनि पार्टीलाई विधि र पद्धतिगत रुपमा चलाउनु पर्ने आवश्यकता औल्याउदै भन्नुभएको थियो,”कतिपय मानिसहरुले बाहिर भनेजस्तो यो पदका लागि मात्रै पनि होइन । हामीले खाली पदका लागि मात्रै स्थायी कमिटीको बैठकको कुरा गरेका होइनौं । यद्यपि काम अगाडि बढाउँदाखेरि त्यसमा पद पनि गाँसिएर आउँछ, त्यो अलग कुरा हो । तर, हामीले उठाएका राष्ट्रियता लगायतका विषयमा कतिपय मानिसहरुले केही पनि होइन भनेका छन्, त्यस्तो सन्देश नजाओस् । हामीले विषयहरुलाई महत्वका साथ उठाएका छौं । जनता र देशको सरोकारको विषयमा हाम्रो धेरै ठूलो चासो छ ।”
“पार्टीको विभाजनको जुन कुरा गरिँदैछ, हामी पार्टी विधानअनुसार चल्नुपर्छ, पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र पार्टीमा फुटका कुरा गर्नुहुँदैन, पार्टी प्रणालीबाट चल्नुपर्छ भन्ने मान्छेहरु नै पार्टी फुटतिर लागे भनेर ठान्छ भने त्यो गलत कुरा हो”, नेता डा. रावलले भन्नुभयो, “जसले विधान नमान्ने, जसले संगठनको प्रणाली नमान्ने, बैठकमा छलफल गर्ने कुरालाई महत्व नदिने , त्यस्ताले चाहिँ पार्टीलाई एक बनाएको ठहरिने ? अनि पार्टी विधान, पद्दति र प्रक्रियाअनुसार चल्नुपर्छ भन्नेहरु चाहिँ फुट चाहन्छन् भन्ने कुरा गलत हो । हामी पार्टीलाई एकतावद्ध बनाएर लैजाने पक्षमा छौं ।”
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का शीर्ष नेता माधवकुमार नेपालले पार्टीलाई विधि विधान अनुरुप नचलाएर हैकमवादी रुपमा चलाउने कुराले संकट ल्याएको बताउदै पार्टीलाई पद्धतिगत रुपमा चलाउने प्रतिबद्धता सार्वजनिक गरेपछि नेकपाको जारी स्थायी समितिको बैठक निर्घारित एजेण्डामा छलफल गरी टुंगोमा पुग्ने विश्वास गरिएको छ । सो कार्यक्रममा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी फुटाउने अभिप्रायले प्रधानमन्त्री ओलीकै अग्रसरतमा नेकपा एमाले दर्ता भएको र पार्टी विभाजन गर्ने मनसायले सत्ताको दुरुपयोग गर्दै देशभरका कार्यकर्तालाई विभाजित गरेर आफूहरुका विरुद्धमा सडकमा उतारिएको आरोप पनि लगाउनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नेताहरुका अनुसार प्रधानमन्त्री ओली दुवै पद छोड्ने मनस्थितिमा हुनुहुन्न । पार्टीको अध्यक्ष छोड्ना साथ प्रधानमन्त्रीले पार्टीको निर्देशन मान्नुपर्ने निरिह अवस्थामा पुगिने भय उहाँमा छ ।सिंगो राजकीय सत्ता सञ्चालन गर्ने प्रधानमन्त्री छोड्ने कुरै भएन् । लोकतान्त्रिक विधिबाट प्रधानमन्त्री निर्वाचित भएपनि उहाँले दुवैपदको ओजले आफूलाई कम्युनिष्ट पार्टीले सञ्चालन गरेको राष्ट्रको प्रमुखको हैसियतमा पाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफनो छायाको रुपमा काम गर्ने र सधै साथ दिने विश्वासमा रहनुभएका प्रधानमन्त्री आफूलाई जंगबहादुर नै संझिनुहुन्छ ।
पार्टीलाई छोडेर अधिनायकवादी शैलीमा शासन गर्नु नै उहाँको सबैभन्दा ठूलो कमजोरी हो । केन्द्रदेखि स्थानिय तहको सत्तामा ठाँउ नपाउने कार्यकर्ताहरु कम्युनिष्ट पार्टीका अध्यक्ष र प्रधानमन्त्रीको सोंच,विचार,अभिव्यक्ति,कार्यशैलीबाट दिक्क छन् । पार्टी सचिवालय,स्थायी समिति,केन्द्रीय कमिटीमा उहाँ अल्पमतमा पर्नुको कारण नै यही हो । प्रधानमन्त्रीले आफ्नो गल्ती र कमजोरी आत्मसात गरी पार्टीका नेताहरुलाई साथमा लिएर हिड्ने लचकता अपनाउन सक्नुभएन भने पर्यटनमन्त्री योगेश भट्टराईले भन्नुभए जस्तै नेकपा दुर्घटना उन्मुख भैरहेको छ । कुनै पनि दिन विभाजन हुनसक्छ ।
दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 28, 2020