क्वाललम्पुर(मलेसिया), ९ माघ । मलेसियामा भइरहेको यु १९ महिला विश्वकपको समूह चरणको अन्तिम तथा तेस्रो खेलमा नेपाली चेलीहरु आज अस्ट्रेलियासँग भिड्दै छन् ।
नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न आज अस्ट्रेलियामाथि विजय हासिल गर्नै पर्ने हुन्छ ।
नेपालले यस अगाडिका दुई खेलको नतिजा आफ्नो पक्षमा पार्न सकेन । पहिलो खेलमा बंगलादेशसंग ५ विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा स्कटल्याण्डसंग १ विकेटले पराजित भएको थियो ।
नेपालको खेलको स्तर सुधारिदै गएकोले आजको खेलमा नेपाल विजयी बन्ने संभावना छ ।
अष्ट्रेलिया भने दुवै खेलमा विजयी बनेर समूह चरणको अन्तिम खेल पहिले नै सुपर सिक्समा पुगिसकेको छ ।
आजको खेलमा अस्ट्रेलियालाई पराजित गरेमा नेपालको सुपर सिक्स सम्भावना जीवितै हुने छ ।
विश्व कपको फर्म्याट
दोस्रो संस्करणको यु १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागीता रहेको छ । सहभागी १६ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् ।
प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ ।
ग्रुप १ मा समूह ‘ए’ र समूह ‘डी’ का शीर्ष ३ देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ र समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहन्छ ।
पूजा महतोको कप्तानीमा रहेको नेपाली युवा टोलीमा सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।