काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा कोरोनाको प्रकोप बढ्दै गएकोले त्यसलाई रोक्नका लागि काठमाडौं, ललितपुर र भत्तपुरमा सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाइएको छ ।
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको आदेशमा जनाइएको छ ।


जिल्ला प्रशासन कार्यालयले जात्रा, महोत्सव र सामूहिक पूजापाठमा पनि रोक लगाएकोले यस बर्षको हरितालिका तीज, ऋषि पञ्चमी, गणेश चौथी जस्ता धामिर्क पर्वहरु प्रभावित हुने देखिएको छ ।
कोरोना संक्रमण फैलने जोखिम भएकोले चाडपर्व, धार्मिक– साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाइएको छ । अब परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर धार्मिक साँस्कृतिक गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासनले शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।
त्यस्तै फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा तथा साइकल सञ्चालन हुने व्यवसाय र कवाडी संकलनमा पनि रोक लगाइएको छ ।

उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालनमा पनि कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।
कोरोना संक्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले भिडभाड हुने गतिविधिमा रोक लगाएको हो ।
आदेशमा निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
![]()


















