काठमाडौं, ३१ साउन । नेपालमा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या एक सय नाघेको छ भने संक्रमितहरुको संख्याले २६ हजार काटेको छ ।
गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको र ४ सय ६८ जना बिरामी भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाए अनुसार यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय २ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार १९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८ हजार १ सय ९३ जनामा सक्रिय सङ्क्रमण छ भने १७ हजार २ सय १ जना भाइरसमुक्त भएका छन्।
गएको नौ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ छ।
चुक्यो नेपाल
सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश २ मा ३ हजार ८ सय २७ जना र बागमती प्रदेशमा २ हजार २ जना रहेका छन्।
त्यस्तै प्रदेश १ मा ८ सय ९४ जना, गण्डकी प्रदेशमा २ सय ६२ जना, प्रदेश ५ मा ७ सय ३६ जना, कर्णाली प्रदेशमा २ सय २५ जना र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना सक्रिय सङ्क्रमित रहेका छन्।
सबैभन्दा बढी सङ्क्रमित काठमाडौमा
शनिवार पुष्टि भएकामध्ये सबैभन्दा बढी ८० जना सङ्क्रमित काठमाडौ रहेका छन्।
ललितपुर र भक्तपुरमा ९/९ जना सङ्क्रमित थपिएपछि काठमाडौं शनिवार ९८ नयाँ सङ्क्रमित थपिएका हुन्।
यो साता मात्रै काठमाडौं ५ सय ९५, ललितपुरमा ८७ र भक्तपुरमा ३४ जना गरी उपत्यकामा ७ सय १६ जना सङ्क्रमित थपिएका छन्।
।
मोरङ्गमा आज ६५ सङ्क्रमित थपिएपछि त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ।
अन्य ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा काठमाडौं, पर्सा, रौतहट र महोत्तरी रहेका छन्।
मृतक को हुन् ?
शनिवार पुष्टि गरिएका तीनै मृतक पुरुष हुन्।
कपिलवस्तुका ४० वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको हो।
ती व्यक्ति तीन महिनाअघि भारतबाट आई क्वारेन्टाइनमा बसेको र त्यतिबेला परीक्षण नतिजा नेगेटिभ आएको बताइएको छ।
त्यस्तै पर्साका ६० वर्षीय पुरुष र धनुषाका ५० वर्षीय पुरुषको शुक्रवार मृत्यु भएको डा. गौतमले बताउनुभयो।
पर्साका पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा पक्षघात रहेको बताइएको छ। धनुषाका मृतकमा मुटुसम्बन्धी समस्या रहेको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क ?
गएको २४ घण्टामा ११ हजार ४७ वटा पीसीआर परीक्षण गरिएको छ।
हालसम्म ५ लाख ५ हजार ६ सय ६० जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १ सय २४ जना रोगमुक्त प्रमाणित भएका थिए।
अहिले देशभरि क्वारेन्टाइनमा १४ हजार ४ सय ४८ जना छन्।


















