काठमाडौं, ४ भाद्र । नेपालका कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २९ हजारबाट उकालो लागेको छ भने यस घातक भाइरसको संक्रमणका कारण जीवन गुमाउनेको संख्या १ सय २६ पुगेको छ ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको छ भने थप ७ सय ७ मा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ।
बिहीवार पुष्टि भएका मृतकहरू पर्सामा एक महिलासहित ३ जना, काठमाडौंमा एक महिला र मकवानपुर एवम् सप्तरीमा एक(एक पुरुष हुन्।
अहिले देशभरि ११ हजार ५ सय ५५ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो।
https://www.facebook.com/mohpnep/videos/632214457402223/
सङ्क्रमितहरूमध्ये ३ हजार ७ सय ७२ जना घरमै र बाँकी ८ हजार ८३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
सक्रिय सङ्क्रमितमध्ये १ सय २९ जना सघन उपचार कक्षमा र काठमाण्डूमा सात जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
को हुन् सङ्क्रमित ?
सङ्क्रमितहरू काठमाडौं १ सय ७४ जना, सर्लाही ९३ जना, पर्सामा ५५ एवम् अछाम र धनुषामा ३१ । ३१ जना रहेका छन्।
ललितपुरका १८ र भक्तपुरका ८ गरी बुधवार काठमाडौंमा २ सय जना सङ्क्रमित थपिएका छन्।

के छ अरू तथ्याङ्क ?
विगत २४ घण्टामा ११ हजार ८ सय ३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
सोही अवधिमा २ सय ६४ जना भाइरसमुक्त प्रमाणित भए।
मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार ९ सय ६४ सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।
देशभरि क्वारन्टीनमा ११ हजार ७ सय ६८ जना छन्।
अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।


















