Prakash Adhikari January 27, 2018

काठमाडौं,१२ माघ । शिवम् न्यु डायमण्ड एकेडेमीले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन् । प्रतियोगिताको नवौं दिन सकिदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पोखराको टप्स उच्च माविलाई ३–१ को जित निकाल्दै प्रतियोगितामा अपराजित रहन सफल भएका हुन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा डायमण्डले पहिलो सेटमा पछि परेको स्थिति उल्ट्याउदै टप्समाथि जित निकालेको हो । डायमण्डले पहिलो सेट २०–२५ ले गुमाएको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको डायमण्डले टप्समाथि २५–१९, २५–१८ र २५–९ को सहज जित निकाल्यो ।

शुक्रबारै भएको अर्काे खेलमा नेपाल एपीएफ क्लबले पूर्वाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानको डायमण्डलाई पछ्याइरहेको छ । एपीएफले पूर्वाञ्चलमाथि २५–७, २५–११ र २५–११ को सोझो सेटमा हरायो । शुक्रबार विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकाल्न सफल भयो ।

पहिलो खेलमा पूर्वाञ्चललाई २५–१०, २५–१२ र २५–३ को सहज जित निकाल्दा अर्काे खेलमा थ्री स्टार एकेडेमीमाथि २५–५, २५–७ र २५–४ को सहज जित निकाल्यो । मेघौली स्पोर्टस् क्लब दाङले स्प्रिङडेललाई २५–२१, २५–१९ र २५–१८ ले पराजित गर्दा त्रिभुवन आर्मीले श्रीगाँउ दाङलाई २५–१२, २५–१७ र २५–२३ ले पराजित गर्यो । डायमण्ड ९ खेलबाट अपराजित रहँदै २७ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको एपीएफ अपराजित रहँदै २४ अंक जोडेर दोस्रो स्थानमा छ ।

नेपाल पुलिस क्लब ९ खेलबाट २१ अंकसहित तेस्रो तथा आर्मी ८ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ । टप्स उच्च मावि ७ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा झरेको छ । श्रीगाँउ दाङ र पूर्वाञ्चल समान ९ अंकसहित लिगको छैटौ र सातौ स्थानमा रहेको छ ।

१२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको शीर्ष सात टोली दोस्रो चरणको लागि छनोट हुनेछ । माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो लिग माघ १६ गतेबाट हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्र्तगत शनिबार पनि ६ खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेलमा श्रीगाँउ दाङले मेघौली स्पोर्टस् क्लब, नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब, शिवम् न्यु डायमण्डले पूर्वाञ्चल, नेपाल एपीएफ क्लबले टप्स उच्च मावि, पुलिसले श्रीगाँउ र मेघौलीले थ्री स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

Share Now

Leave a comment.