Prakash Adhikari August 23, 2020

 

ब्रायनलारा स्टेडियम( ट्रिनिडाड), ७ भाद्र । वेस्टइण्डिजको ट्रिनिडाड एण्ड टोबागोमा भैरहेको करेबियन प्रिमियर लिगको आठौं संस्करण (सीपीएल-२०२०) को आफ्नो टीमको तेस्रो खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले दुई विकेट लिंदै नयाँ रेकर्ड पनि बनाएका छन् ।

गायना अमेजन वारियर्स बिरुद्धको खेलमा जमैका तल्लाहवाजकातर्फबाट खेलेका नेपाली बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिएका थिए।

यस संस्करणको सीपीएलमा सन्दीपले आफूले खेलेका तीन खेलमा चार विकेट लिने सफलता पाएका छन् । उनले टीमको पहिलो र दोस्रो खेलमा एक एक विकेट लिएका थिए ।

सीपीएलको आठौं संस्करणसम्मको इतिहासमा नेपाली खेलाडी सन्दीपले सातौं इकोनोमिक बलरको रेकर्ड कायम गरेका छन् । उनले सीपीएलमा डेब्यु गरेको तीन बर्षमात्र भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्ने क्रममा गायना अमेजन वारियर्सलाई जमैकाले १९.१ ओभरमा १ सय १८ रनमा सीमित गरेको थियो । १ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो।

सन्दीपको व्यक्तिगत नयाँ रेकर्ड

यो नेपाली बलर सन्दीप हालसम्म खेलेका विदेशी टी २० लिगहरुमध्ये ४ ओभर बलिंग गर्दा वा खेलमा आफूले पाएको पूरा ओभर बलिंग गर्दा हासिल गरेको सबैभन्दा किफायती बलिंग हो।

यस अघिसम्म खेलमा पूरा ओभर बलिंग गर्दा उनले सबैभन्दा कम ११ रन खर्चिएका थिए। २०१९ को बिग ब्यास लिगमा सिड्नी थन्डर्स बिरुद्ध ३.४ ओभर बलिंग गर्दा सन्दीपले मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। अन्तिम ब्याट्सम्यानको विकेट लिएपछि सन्दीपको स्पेल सकिएको थियो।

सीपीएल २०१८ मा गुइना विरुद्धको खेलमा पूरा ४ ओभर बलिंग गर्दा उनले मात्र १२ रन खर्चेर २ विकेट लिएका थिए।

नेपाली राष्ट्रिय टिमबाट खेल्दा उनले टि २० अन्तर्राष्ट्रियमा भने उनले यसै वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न टि २० प्रतियोगितामा थाइल्याण्ड बिरुद्ध ४ ओभरमा ९ रन मात्र खर्चेर १ विकेट लिएका थिए जुन क्रममा २ मेडन ओभर गरेका थिए।

नेपालको टी २० अन्तर्राष्ट्रियमा उक्त स्पेल चौथो किफायती थियो। सबैभन्दा किफायती स्पेलको किर्तिमान पवन सर्राफले गत वर्ष डिसेम्बरमा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्स बिरुद्ध ३ ओभरमा मात्र ३ रन खर्चदै २ ओभर मेडन गर्दै १ विकेट लिएर बनाएका थिए ।

सिपिएलको टी २० इतिहासमा २ वा त्यो भन्दा कमको इकोनोमी रेटमा हालसम्म सन्दीपसहित १५ जना बलरले मात्र बलिंग गर्न सकेका छन्।

यस पहिले ११ औं किफायती बलर रहेका सन्दीप ४ स्थानले उकालो लागेका हुन्।

सन्दीपले सीपीएलमा कुल १४ खेल खेल्ने क्रममा ४८.५ ओभर बलिंग गर्दै २ मेडन ओभरको साथ कुल २ सय ९६ रन खर्चका छन्। यस क्रममा उनले १९ विकेट लिन ६.०६ को इकोनोमी रेटले बलिंग गरेका छन्।

उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएपछि सन्दीपले प्रत्यक्ष कुराकानीको क्रममा श्रेय अफगानिस्तानका मुजिब उर् रहमान लाई दिएका छन्।

“यसको श्रेय मुजिबलाई जान्छ जसरि उनले बलिंग गरे र सुरुवात दिलाए। हामी दबाबमा थियौं र त्यो अवस्थामा जसरि उनले योगदान दिए र योजना अनुसार बलिंग गरे मलाई भन्दा उनलाई बढी श्रेय जान्छ।”

मुजिबले खेलमा ३ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिएका थिए। यस क्रममा उनले उत्कृष्ट सुरुवात गरेको गायनाको माथिल्लो क्रमका ब्याट्सम्यानलाई आउट गर्दै टिमलाई खेलमा फर्काएका थिए। सोहि दबाबका कारण आफूले खुलेर बलिंग गरेको सन्दीप बताका छन् ।

“बल घुमीरहेको थियो र म मात्र ब्याट्सम्यान भन्दा पर बल फाल्न प्रयास गरिरहेको थिए जसमा म सफल पनि भए। म अझै विश्वास गर्छु कि मुजिबले त्यो परिस्थितिको सिर्जना गरे जसकारण मैले दबाब मुक्त भएर बलिंग गरे। म फेरी भन्छु उनले जसरी बलिंग गरे त्यो जादुमयी थियो।”

खेलमा सन्दीपको प्रदर्शन


गुयनासंगको खेलमा नवौं ओभरमा बलिंग गर्न आएका सन्दीप पहिलो ओभरमा रस टेलर र शर्फेन रुथरफोर्डलाई दबाबमा राख्ने क्रममा मात्र २ रन खर्चिए। यो ओभरमा उनले ४ वटा डट बल गरे।

११ औं ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीप दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लय। खराब बल भएता पनि रुथरफोर्डले टाढा जाँदै गरेको बललाई जोडले हिर्काउन खोज्दा सर्ट थर्डम्यानमा समातिन पुगेका थिए। दोस्रो स्पेलको यस ओभरमा सन्दीप मात्र १ रन खर्चेर १ विकेट लिए। पहिलो बलमा रस टेलरले १ रन लिए पछिको ५ बलमा सन्दीपले रन बनाउन नसकिने गरी बल फ्याके ।

तेश्रो स्पेलमा पनि उत्कृष्ट बलिंग गर्ने क्रममा सन्दीप मात्र ३ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरेर रस टेलर र किमो पौललाई नियन्त्रणमा राखे।

१५ औं ओभरमा चौथो तथा अन्तिम स्पेल लिएर आएका सन्दीप मात्र २ रन खर्चेर १ विकेट लिए। गायना कप्तान क्रिस ग्रिनलाई ओभरको चौथो बलमा उनले खुट्टा पछाडीबाट बोल्ड गरे। ओभरमा सन्दीपले एउटा वाइड बल गरे भने रस टेलरले तेश्रो बलमा १ रन लिनु बाहेक सबै बलमा विपक्षीलाई रनबिहिन पारे।

खेलको रहस्य यस्तो

सन्दीपले रुथरफोर्ड र क्रिस ग्रिनलाई कसरी बलिंग गरेको पनि बताएका छन् । उनले उत्साहपूर्वक भनेका छन् :“उनी (शरफेन रुथरफोर्ड) मलाई ठूलो सट खेल्ने प्रयास गरिरहेका थिए त्यसैले मैले उनलाई सर्ट बल गरे जसमा उनी फस्न पुगे। त्यसपछि क्रिस ग्रिन क्रिजमा चलिरहेका थिए जसलाई मैले फ्लिपर बल गरे। रस टेलरबिरुद्ध मेरो योजना थियो कि उनीभन्दा बल पर नै राख्ने र उनलाई १ रन मात्र दिएर अर्को ब्याट्सम्यान ल्याउने जसकारण मैले अझ डट बल फाल्न सकु।”

रुथरफोर्डलाई सन्दीपले सर्ट थर्डम्यानमा क्याच आउट गराएका थिए भने ग्रिन गोडा पछाडिबाट बोल्ड भएका थिए। सन्दीपलाई रस टेलरले खुलेर ब्याटिंग गर्न सकेका थिएनन्।

Share Now

Leave a comment.