पोर्ताहा, (धनुषा), १३ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहानजिकै कमल पुल छैउ शनिवार २ः३० बजे टाटासुमो अनियन्त्रित भई पोखरीमा डुब्दा ६ जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहा कमला नदी पुलको उत्तर रहेको नर्सरी पोखरीमा टाटा सुमो अनियन्त्रित भएर डुबेको हो । गाडीमा ११ सवार रहेको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा संखुवासभा घर भएका धर्मदेवी नगरपालिका–९ बस्ने अन्दाजी २९ वर्षीय नवराज जिमी, मोरङ जिल्ला घर भई विराटनगर महानगरपालिका वडा नं। ४ बस्ने ३५ वर्षीया शारदा रेग्मी दाहाल, मोरङ विराटनगर–१ बस्ने ३२ वर्षीय प्रह्लाद न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसैगरी खोटाङ जिल्ला घर भई निर्मलडाँडाँ गाउँपालिका–५ घर भएका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङ लेटाङ नरपालिका–६ का ४० वर्षीय खेमकुमार राना र पाँचथर रविकी ३१ वर्षिया प्रनिता राई रहेको पोर्ताहा प्रहरी चौकीका सहायक निरीक्षक शारदाशंकर साहले जानकारी दिए।
काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासुमो तीव्र गतिका कारण अनियन्त्रित भई राजमार्गको साइडमा बनाइएको सुरक्षा पिलर भाँच्दै पोखरीमा डुबेको थियो।
पोखरीमा पानी अत्यधिक रहेका कारण गाडी पूर्ण रूपमा डुब्दा गाडीबाट निस्केर पाँच जना छतमा बसेका थिए।
६ जना निस्कन नसकी पानी खाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।


















