Prakash Adhikari September 26, 2020

 

काठमाडौं, १० असोज । नेपालमा थप १ हजार २ सय भन्दबढीलाई कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये आधा भन्दाबढी राजधानी रहेको काठमाडौं उपत्यकाका रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार दिउँसो नेपालका विभिन्न जिल्लामा थप १ हजार २ सय ७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७१ हजार ८ सय २१ पुगेको छ।

सो अवधिमा ८ जनाको कोरोना भाइरसको संक्रमण समेतको कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो आँकडा सहित नेपालमा अहिलेसम्म ४ सय ६७ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५३ हजार नाघेको छ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार १ सय ४७ जना रोगमुक्त भएका छन्।

कोरोनाभाइरस ब्यानर

गत भदौ २४ देखि प्रत्येक दिन एक हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।

शुक्रवार मन्त्रालयले १ हजार ३ सय १३ सङ्क्रमित फेला परेको जनाएको थियो।

गत असोज २ गते एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

कोरोनाभाइरस ब्यानर
अहिले देशभरि १८ हजार ३ सय ४१ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ७ हजार ८ सय ३३ जना संस्थागत आइसोलेशनमा र अरू १० हजार ५ सय ८ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्र भन्दाबढी छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. असोज १० गते अपराह्णसम्मको तथ्याङ्क . .

विगत २४ घण्टामा १० हजार १९ वटा नमूनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभएको छ।

उहाँका अनुसार अहिलेसम्म नेपालमा ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.८ प्रतिशत हो।

को हुन् मृतक ?

मन्त्रालयका अनुसार अहिले कोरोना भाइरसको समेत कारणले मृत्यु भएका सबै ८ जना पुरुष हुन्।

उनीहरूको उमेर २० देखि ८८ वर्षसम्म थियो।

तीमध्ये चार जना काठमाडौं उपत्यकाका छन भने सप्तरी, मकवानपुर, रूपन्देही तथा कैलालीका एकएक जना छन्।

कहाँ थपिए सङ्क्रमित ?

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार शनिवार अरान्हसम्म विगत २४ घण्टामा थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ७ सय २४ जना छन्।

तीमध्ये काठमाडौंका ५ सय ८३, भक्तपुरका ६३ र ललितपुरका ७८ जना छन्।

त्यसैगरी मोरङमा ७८ र रूपन्देहीमा ७३ सङ्क्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहिर सिरहा, चितवन र रूपन्देहीमा धेरै सङ्क्रमित छन्।

गम्भीर लक्षण भएका २ सय २४ सङ्क्रमित सघन उपचारमा र २७ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

वाग्मती प्रदेशका जिल्लामा सघन उपचारमा भएकामध्ये १ सय ३१ जना र भेन्टिलेटरमा २३ जना छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.