स्टकहोम(स्वीडेन), २२ असोज (बीबीसी) । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुईज ग्लूकलाई प्रदान गरिने भएको छ।
उनलाई सुन्दर काव्यात्मक आवाजका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार दिने संस्था स्वीडिश अक्याडमीले जनाएको छ।
अघि चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम घोषणा भइसकेको छ।
गत वर्ष पोलिश लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटकका पिटर हान्क दुवै जनालाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो।
आफ्नो पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने तोकाचुकलाई सन् २०१८ को पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कार प्रदान गर्ने स्वीडिश अक्याडमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण सन् २०१८ का लागि पुरस्कार स्थगित गरिएको थियो।
सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार भने पिटर हान्कले पाएका थिए।

क्याप्शन : सन् २०१८ र २०१९ को पुरस्कारका विजेता
के हो विजेताको विशेषता ?
ग्लूकका कवितामा मानव हुनुको पीडादायक यथार्थको चित्रण गरिएको हुन्छ। उनी मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु हुनुहुन्छ।
उहाँले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा न्याश्नल बुक अवार्ड पाउनुभएको थियो।
अक्याडमीका अनुसार उहाँ ‘ब्रह्माण्ड खोज्नुहुन्छ अनि त्यसका लागि मिथक र शास्त्रीय भावबाट उत्प्रेरित हुनुहुन्छ।’
सन् २००६ मा प्रकाशित उनको कृति ‘अभेर्नो’ बारे उल्लेख गर्दै अक्याडमीले त्यो उत्कृष्ट सङ्कलन भएको तथा त्यसमा पर्सिफोन नरक झरेको र मृत्युका देवता हेड्सको नियन्त्रणमा परेको मिथकलाई काल्पनिक चित्रण गरेको जनाएको छ।
उहाँको अर्को प्रसिद्ध काव्यकृति फेथफुल हो।
सन् २०१८ मा किन दिइएन ?
साहित्यतर्फ नोबेल पुरस्कार प्रदान गर्ने संस्थाले सन् २०१८ मा उक्त पुरस्कारको घोषणा नगरिने बताएको थियो।
यौन दुर्व्यवहारसँग सम्बन्धित आरोपहरूमा मुछिएपछि आफ्नो विश्वसनीयता गुमेको स्वीडिश अक्याडमीमा अधिकारीले बताएका थिए।
एक सदस्यको पतिमाथि त्यस्ता आरोप लागेपछि अक्याडमीले उक्त निर्णय गरेको थियो।
ती आरोपबारे उसले प्रदर्शन गरेको व्यवहारका कारण उक्त संस्था अप्ठ्यारोमा परेको थियो।
त्यस बेला ती महिलाका साथै अक्याडमीका प्रमुख एवम् अन्य चार सदस्यले पनि राजीनामा दिएका थिए।
अक्याडमीकी सदस्य कट्रीना फ्रास्टेसनका पति ज्याँ क्लाँ अर्नाविरुद्ध यौन उत्पीडनको आरोप लागेको थियो।
बलात्कारको सो अभियोगमा दोषी प्रमाणित भएपछि उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।
सन् १९०१ मा उक्त पुरस्कार स्थापना भएयता सन् २०१८ को उक्त दुर्व्यवहार काण्ड सो संस्थाले बेहोरेको सबैभन्दा गम्भीर हो।
यसअघि विश्व युद्धका बेला छ वर्षसम्म पुरस्कार दिइएको थिएन। सन् १९३५ मा चाहिँ योग्य पात्र नभेटिएको भन्दै पुरस्कार प्रदान गरिएको थिएन।








