काठमाडौं, २४ असोज । नेपालमा विगत २४ घण्टामा ५ हजार ८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
अहिले फेला परेका सङ्क्रमितमध्ये २ हजार ६ सय ७२ जनाभन्दा बढी काठमाडौं उपत्यकाका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ५ हजार नाघेको छ।
शनिवार अपराह्णसम्म विगत २४ घण्टामा थप १४ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अहिलेसम्म ६ सय १४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार २ सय २९ जना रोगमुक्त भएका छन्।
गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या १ लाख नाघेको छ।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्। शुक्रवार २ हजार ५९ सङ्क्रमित फेला परेका थिए।

बिहीवार मन्त्रालयले ४ हजार ३ सय ६४ सङ्क्रमित फेला परेको र १२ जनाको मृत्यु भएको बताएको थियो।
नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।
कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।
अहिले देशभरि ३० हजार ८ सय १८ जनामा सक्रिय सङ्क्रमण छ। यो सक्रिय सङ्क्रमितको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो।
तीमध्ये १७ हजार १ सय६४ जना घरमा र बाँकी १३ हजार ६ सय ५३ जना संस्थागत आइसोलेशनमा भएको डा. गौतमले बताए।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।
तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका हुन्।
विगत २४ घण्टामा १९ हजार ३ सय २० वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।
अहिलेसम्म नेपालमा ७४ हजार २ सय ५२ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७०.२ प्रतिशत हो।
गम्भीर लक्षण भएका ३ सय १२ सङ्क्रमित सघन उपचारमा र ७७ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
को हुन् सङ्क्रमित ?
अहिले विभिन्न ६८ जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।
तीमध्ये काठमाडौं जिल्लामा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना ललितपुरमा ३ सय ६९ जना गरी उपत्यकामा कुल २ हजार ६ सय ७२ जनामा सङ्क्रमण देखा परेको छ।
त्यसैगरी मोरङमा ३ सय ६९, सुनसरीमा ३ सय ९४, चितवनमा १ सय ४७, रूपन्देहीमा २ सय १५ र सुर्खेतमा १ सय ३४ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
सङ्क्रमितमध्ये १ हजार ८ सय २३ जना महिला र ३ हजार १ सय ८५ जना पुरुष छन्।
को हुन् मृतक ?
विगत २४ घण्टामा दुई महिला र १२ पुरुषसहित १४ जनाको कोरोना भाइरसको संक्रमण समेतको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
उनीहरूको सुनसरी, मोरङ, सर्लाही, काठमाण्डू, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नवलपरासी पूर्व र रूपन्देहीमा मृत्यु भएको हो।
मृतकहरूको उमेर २० वर्षदेखि ९० वर्षसम्म भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिन्छ।
नेपालमा ०.५८ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।(बीबीसीबाट)


















