काठमाडौं, २९ असोज । कोरोना भाइरसको विश्वब्यापी महामारीबाट बच्न साबुन पानीले मिचिमिची हात धुने चेतना संभारभर फलाइएको भए पनि सो अनुरुपका पूर्वाधार नबनेकोमा विज्ञहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
विश्व हात धुने दिवस( १५ अक्टोबर) को अवसरमा स्मार्ट वास सोलुसनले बिहिबार आयोजना गरेको वेविनारका वक्ताहरुले यस्तो पूर्वाधारको अभावको विषय उठाउनुभएको हो । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ यस वर्ष विश्व हात धुने दिवस मनाइएको थियो ।
वेविनारमा आफ्नो प्रस्तुति दिंदै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई रामदीप साहले कोरोना भाइरसको संक्रमण फैलन नदिने एक महत्वपूर्ण उपायको रुपमा हातको सरसफाईलाई लिएको बताउदै भन्नुभयो, ‘यो महामारी रोक्ने खोपको आविश्कार भएर आम जनतालाई उपलब्ध नभएसम्म हातको धुलाईबाटै यसको रोकथाम र नियन्त्रण गर्नुपर्ने अवस्था छ ।’
उहाँले हात धुलाईको यस्तो महत्व भएपनि विश्वका झण्डै आधाजसो ४३ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने सुविधान नरहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘धेरै स्कूलहरुमा पर्याप्त पानीको सुविधा छैन, सावुन पनि पाइदैन । यदि हात धुने सुविधामात्र पुर्याउन सकियो भने यसले झाडा पखालाबाट बर्षेनी जीवन गुमाउन झण्डै १ लाख ६५ हजार बालबालिकाको जीवन जोगाउन सकिन्छ ।’
उहाँले आफ्नो हात सफाई गर्ने कार्य आमाको काखबाट र बाबुको हात समाउने उमेरबाट घरभित्रैबाट थालनी हुने भएपनि यसको सही जानकारी दिन स्वच्छ पानीको उपलब्धता बढाउने, साबुन उपलब्ध गराउने,यसम्बन्धी सन्देश रेडियो,टेलिभिजन,पुस्तक पत्रिका,मोबाइल आदिबाट दिने,हात धुने प्रक्रिया प्रदर्शन गर्ने, राम्रो गर्नेलाई पुरस्कृत गर्ने र फाइदा पाएकाहरुको अनुभव साझेदारी गरी यसलाई विस्तार गर्न सकिने बताउनुभयो ।
उहाँले सन २०३० सम्म सबैलाई हातधुने सुविधा उपलब्ध गराउन तिनै तहका सरकार,सामुदायिक संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु र दातृनिकायहरुले एकसाथ हातेमालो गरेमा यो लक्ष्य हासिल हुने बताउनुभयो ।
उहाँले हात धुने बानी बढाउन अधिक मानिसहरुको जमघट हुने ेिवद्यालय,कलेज,बसपार्क,बस बिसौनी,सिनेमा हल, रंगशाला र खेलमैदान,मठ मन्दिर,मस्जिद,गुम्बा,चर्च, प्रहरी हिराशत, जेल, अस्पताल तथा स्वास्थ्य चौकी र केन्द्रहरुमा यस्तो सुविधा बढाउन सुझाव दिनुभयो ।
वेविनारमा आफ्नो प्रस्तुति दिंदै नवपाईलाकी आयोजना संयोजक शीला डंगोलले नेपालमा अझैपनि सरसफाई र हात धुने सुविधा सबैलाई पुर्याउन नसकिएको बताउनुभयो । उहाँले अहिले मानिसहरुको पहुँच मोबाइलमा भएको र यसबाट हातको सफाईसम्बन्धी महत्वपूर्ण सन्देशहरु प्रवाह गर्न सकिने बताउनुभयो ।
उहाँले हात धुने कार्यमा गरिएको लगानीले स्वास्थ्य उपचारमा गरिने खर्च घटाउन धेरै मद्दत हुने पनि उल्लेख गर्नुभयो ।
वेबिनारमा आफ्नो प्रस्तुति दिंदै नवपाइलाका विजय थापाले हात धुने सन्देश सबैले पाएको भए पनि त्यसलाई ब्यबहारमा उतार्ने पक्षमा कमी कमजोरी देखिएको बताउनुभयो । उहाँले साबुन पानीले २०देखि ३०सेकेण्डसम्म मिचिमिची हात धुँदा सरुवा रोगका किटाणुहरु मर्ने र निष्क्रिय हुने भएकोले हात धुँदा नआत्तिइकन मिचेर हात धुने बानी बसाल्न पर्ने बताउनुभयो ।
सामान्य अवस्थामा पनि हाम्रा हातहरु ३० मिनेटमा ३०० पटकसम्म सतहमा सम्पर्कमा आउने र त्यसबाट ८ लाख ४० हजार किटाणुहरु सम्पर्कमा आएर सर्ने संभावना भएकोले साबुन पानीले हात धोएर तिनलाई मार्न जरुरी भएको बताउदै भन्नुभयो,’खासगरी खाना खानु अगाडि र पछाडि,दिशा पिशाव गरेपछि,नाक तथा मुख सफा गरेपछि,बाहिर हिडेर आएपछि साबुन पानीले मिचिमिची हात धुने बानी बसाउन अभिभावकले आफ्ना बालबालिकालाई ध्यान दिनुपर्नेछ ।’
उहाँले उचित तरिकाले साबुन पानीले हात धुँदा बर्षेनी नेपालमा झाडा पखालाको कारण हुने ३ हजार ५ सय नागरिकलाई मृत्युबाट जोगाउन सकिने बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई विज्ञ डा. दिनेश मानन्धरले हातको सरसफाईको ज्ञान भएपनि त्यसको अभ्यास र बानी बसाल्ने विषयमा भने कमी कमजोरी रहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्र संघले दिगो विकासको लक्ष्यमा राखेको सबैलाई २०३० सम्म खानेपानी र सरसफाईको सुविधा पुर्याउने लक्ष्य हासिल गर्न सबैले संयुक्त रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदी साहको सभापतित्वमा सम्पन्न भएको सो वेविनारमा विषय प्रवेश गराउदै स्मार्ट वासका सल्लाहकार तथा पूर्व मन्त्री ई गणेश साहले सबै नेपालीलाई हात धुने सुविधा उपलब्ध गराउन सरकारी निकाय, गैरसकारी निकाय,सामुदायिक संस्थाहरु र निजी क्षेत्रसमेतको साझेदारी आवश्यक रहेको बताउनुभएको थियो ।
वेविनारमा ई.ईश्वर अमात्यले हात धुने कार्यमा स्वच्छ पानीको उपयोगिता धेरै महत्वपूर्ण भएकोले सबै नेपालीलाई स्वच्छ पानी उपलब्ध गराउने कार्यमा सबैको संगठित प्रयास हुनु पर्ने बताउनुभयो ।
वेविनारको सञ्चालन स्मार्टवासकी निर्देशक गिरिजा दाहालले गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीको सन्देश
विश्व हात धुने दिवस’ (अक्टोबर १५० का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पु¥याउनु अपरिहार्य भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको उल्लेख गर्दै कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको उल्लेख गर्नुभएको छ ।


उहाँले सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको जनाउनुभएको छ ।
सन्देशमा भनिएको छ, “कोभिड–१९ बाट आपूm बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता छ ।”
राष्ट्रपति भण्डारीले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिकस्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सोसम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गर्नुभएको छ ।


















