वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १२ कार्तिक(बीबीसी) । अमेरिकी राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक पार्टी तर्फका उम्मेदवार जो बाइडनले कोरोनाभाइरस सङ्कटको व्यवस्थापनलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पको पुन आलोचना गर्नुभएको छ ।
ट्रम्पले सामाजिक दूरी कायम गर्न अस्वीकार गरेर र मास्क लगाउने विषयमा मानिसहरूलाई प्रोत्साहित नगरेर अमेरिकी जनताको अपेक्षा पूरा गर्न नसकेको उहाँले बताउनुभएको छ ।
बाइदेनले पार्टीभन्दामाथि उठेर आफूलाई सबै अमेरिकीको राष्ट्रपतिको रूपमा प्रस्तुत गरे पनि आफ्ना प्रतिद्वन्द्वीलाई आक्रमण गर्न भने छोड्नुभएन।
करिब २ लाख २५ हजार अमेरिकीहरूको ज्यान लिएको कोरोनाभाइरसको महामारीलाई लिएर वाइदेनले राष्ट्रपति ट्रम्पको आलोचना गर्नुभएको हो।
जर्जियामा बाइडनले कोरोनाभाइरसको व्यावस्थापनमा ट्रम्प ‘आत्मसमर्पण’को अवस्थामा पुगेको बताउनुभयो।
बीबीसी संवाददाताले रिपब्लिकनको पकड रहेको जर्जिया राज्यमा बाइडनको उपस्थितिले डेमोक्र्याटिक पार्टीको आत्मविश्वास बढेको सङ्केत गरेको बताउनुभएको छ।
बाइडनको दावी
बाइडनले परम्परागत रूपमा रिपब्लिकनहरूको पकड रहेको क्षेत्रमा भएको चुनावी अभियानमा राष्ट्रपति ट्रम्पलाई ‘ठग’ भन्दै चर्को आलोचना गर्नुभयो।
जर्जियाको वार्म स्प्रिङ्स्को भ्रमणका क्रममा मङ्गलवार बाइडनले आफू ‘विभाजित गर्ने नभइ एकतावद्ध गर्ने’ राष्ट्रपति बन्ने र आफूले देशको ‘घाउ निको’ पार्नसक्ने बताउनुभयो।
सन् १९९२ यता जर्जियाले डेमोक्र्याट उम्मेद्वारलाई जिताएको छैन तर मत सर्वेक्षणहरूले दक्षिणी राज्यहरूमा डेमोक्र्याटिक पार्टी सङ्ख्यामा अगाडि रहेको देखाएको छ।
यो साताको अन्त्यतिर बाइडनले आयोवा राज्यको भ्रमण गर्नुहुनेछ। चार वर्षअघिको चुनावमा उक्त राज्यमा ट्रम्पले १० अङ्कले जित्नुभएको थियो।
त्यसबाहेक बाइदन विस्कनसिन, मिसिगन र फ्लोरिडा राज्यमा पनि जाने तय भएको छ।
ट्रम्पको भनाई
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको असरलाई सञ्चारमाध्यमले बढाइचढाइ गरेको आरोप लगाउनुभएको छ ।
कोभिड १९ को असर अब केही महिनामात्रै रहने हालैका अनुसन्धानहरूले देखाएको र आफूलाई पनि छिट्टै निको भएको उहाँले बताउनुभयो।
ट्रम्प भने सन् २०१६ मा आफूले जितेका र मत जतापनि जान सक्ने राज्यहरूमा आक्रामक रूपमा प्रचार गर्नुभएको छ।
चुनाव आउन एक सातामात्रै अगाडि भएका मत सर्वेक्षणहरूले ट्रम्प पछाडि रहेको देखाएका छन्।
तर एरिजोना, फ्लोरिडा, नर्थ क्यारोलाइना जस्ता राज्यहरूमा कडा प्रतिस्पर्धा हुनेछ र तिनै राज्यका मतले निर्णायक नतिजा दिन सक्छन्।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला ६ करोड ९० लाख भन्दा बढी मानिसले मत हालिसकेका छन्। हुलाकमार्फत् मत दिन पाइने अनि चाँडै मतदान गर्न पाइने सुविधाको प्रयोग धेरै भएका छन्।
यसैबीच, मिसिगनमा भएको र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूलाई बदनाम गर्न विपक्षीहरूले कोरोनाभाइरसको महामारीलाई लिएर अमेरिकीहरूलाई भड्काएको आरोप लगाउनुभएको छ।
मंगलवार, ट्रम्पले नेब्रास्कालगायत सन् २०१६ को चुनावमा डेमोक्र्याटहरूबाट खोसिएका मिसिगन र विस्कनसिन राज्यमा र्यालीहरू सम्बोधन गर्नुभएको थियो।
मिसिगनको राजधानीमा बोल्दै उहाँले सहरको बाहिरी क्षेत्रका महिलाहरूलाई भन्नुभयो ूतपाईँका श्रीमान्हरू काममा फर्किन चाहन्छन्, हैन ? हामी तपाईँका श्रीमान्हरूलाई काममा फर्काउनेछौँ।ू
यही महिना कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएका ट्रम्प आउँदो मङ्गलवार हुने निर्वाचनअघिका चुनावी अभियानका दुई दिनमा ११ वटा र्यालीहरू गर्ने योजना गरिरहनुभएको छ।
पेन्सलभेनिया राज्यमा बोल्दै ट्रम्पले राष्ट्रपतिका रूपमा राम्रो काम गर्नसक्ने बाइदनको दाबीप्रति आशङ्का व्यक्त गर्नुभएको छ।
‘जो बाइडनले संसद्मा ३६ वर्ष र उपराष्ट्रपतिका रूपमा ८ वर्ष गरेका काम अमेरिकी जनताले हेर्न सक्छन् र उनले अन्तत: केही गर्न सक्लान् कि नसक्लान् भनेर अमेरिकी जनताले तय गर्छन्’ , उहाँले भन्नुभएको छ ।