काठमाडौं, १३ कार्तिक । विजया दशमीको टीका लगाउने क्रम आज पनि जारी छ। आज पनि आआफ्नो परम्परा अनुसार हिन्दुधर्मावलम्बी नेपालीहरु मान्यजनबाट टीका र जमरा थाप्न आफन्तजनकोमा गइरहेका छन्।
विजयादशमीका दिनदेखि शुरु भएको दशैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।
दशमीको दिन टीका लगाउन नभ्याउनेले पूर्णिमाको दिनसम्म टीका लाउने प्रचलन रहेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व मनाइन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडा अभिषेक गरी विजयादशमीको दिनबाट टीका र जमरा लगाउने गरिन्छ।
यस वर्ष भने कोरोना महामारीको कारण आफन्तकोमा टीका लगाउन जानको चहलपहल कम देखिएको छ ।
यस अघि एकादशीको दिन बिहानैदेखि आफन्तकोमा टीका लगाउन जानेको भिड देखिन्थ्यो ।
विगतमा बाटो, सडक तथा चोकमा टीका लगाउन जाने मानिसको भिड देखिने भए पनि यस वर्ष सुनसान देखिएको छ।
सर्वसाधारणको दशैँ टीका यस वर्ष घर भित्र मात्र सिमित भएको छ।
यस वर्ष चोक तथा बजार पनि सुनसान जस्तै छन्। चोकमा न यातायात साधनको प्रतिक्षामा बसेका यात्री छन्, न यातायात साधन नै छन्। यात्री र यातायात साधन फाट्टफुट्ट रुपमा मात्र देखिएका छन्।


















