Prakash Adhikari November 1, 2020

प्रकाश अधिकारी
काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः विभाजनको संघारमा आइपुगेको छ । आइतबार राजधानीमा भएका गतिविधिले यो दल प्रक्रिया पुर्याएर छिटै विभाजन हुने संकेतहरु दिएका छन् ।

आइतबार बिहान पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर निकै गम्भीर विषयमा सामूहिक छलफल गर्नुभएको थियो । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा अध्यक्ष प्रचण्डले निकै भावुक हुँदै शनिवार पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग भएको वार्ताको विस्तृत विवरण दिंदै पार्टी एकता गम्भीर संकटमा परेको बताउनु भयो ।

उहाँले आफूहरु जस्तोसुकै अपमान सहेर पनि पार्टी एकता र पार्टीको सरकार बचाउन लागेको तर प्रधानमन्त्री ओलीले त्यसलाई कमजोरी ठानेर विपक्षीलाई भन्दा पनि बढी पेल्दै जानुभएको र शनिवारको भेटमा त पार्टी छोडेर जानुहोस् भन्ने दुस्साहससम्म गर्नुभएको बताउनुभयो ।

शनिवारको बैठका सरकार सञ्चालनमा प्रधानमन्त्रीले पार्टीसंग समन्वय नगर्नुभएको र यसले पार्टी पद्धतिमा गम्भीर असर परेकोले महत्वपूर्ण निर्णयहरु सचिवालयमार्फत अनुमोदन गरेर मात्र सरकारले गर्ने परम्परा बसाउन आफूले आग्रह गर्नासाथ प्रधानमन्त्री ओलीले अब सँगै जान सकिदैन् तपाई आफ्नो बाटो बनाउनहोस् मैले आफ्नो बाटो रोजेको छु भनेर उहाँलाई पार्टी फोड्न लल्कार्नुभएको दावी उहाँले शीर्ष नेताहरुसंग गर्नुभएको थियो ।

‘प्रधानमन्त्रीले अब सँगै जान नसकिने भइयो, अलग–अलग जाऊँ, मैले निर्णय गरिसकेँ, तपाईंहरु पनि गर्नुस् भनेर भन्नुभयो’, प्रचण्डले नेकपाका शीर्ष नेताहरुलाई भन्नुभयो ।

कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन आनाकानी गरेको, स्थायी समितिको बैठक सारेको, एकलौटी रुपमा गरेका निर्णयका बारेमा छलफल गर्न नचाहेको र पार्टी विभाजन गर्नको लागि सबै तयारी गरेको बारेमा आफूसंग पर्याप्त सूचना रहेको बताउनुभएको थियो ।

‘प्रधानमन्त्रीले आफूले गरेका सबै काम हामीले सहिदिनुपर्ने, उहाँको एकलौटीको साक्षी मात्रै बसिराख्नुपर्ने व्यवहार देखाउनुभयो,’ प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति विमति जनाउदै उहाँले भन्नुभयो, ‘तयारी हेर्दा उहाँले सबै अस्त्र प्रयोग गसिक्नुभयो, यसरी त पार्टी कसरी चल्छ होला र’

कार्यकारी अध्यक्ष प्रचण्डले बडो आक्रोशपूर्ण शैलीमा भन्नुभएको थियो ‘पार्टी कमिटीको निर्णय पनि नमान्ने अनि विपक्षीलाई झैँ पेल्दै हामीलाई निकै छेउ पुर्याइसक्नुभएको छ ।

प्रधानमन्त्री ओलीले घचेटेर पठाउन खोजे पनि आफू पार्टी विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै प्रचण्डले भन्नुभएको थियो ‘अहिले पार्टी फुटिहाल्छ भनेर मैले कल्पना गरेको छैन, तर प्रधानमन्त्रीको सबै तयारी हेर्दा उहाँ हामीसँग सँगै नजाने योजनामा हुनुहुन्छ । आगामी दिनमा कसरी जाने, हामीले गम्भीर समीक्षा गर्नुपर्नेछ।’

प्रधानमन्त्री ओलीको तयारी

शनिवार पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटाएर जाने सल्लाह दिनुभएका प्रधानमन्त्री ओलीले आइतबार आफूनिकट नेताहरुसंग भावि रणनीतिबारे सल्लाह गर्नुभएको थियो। बालुवाटारमा आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका एक दर्जन नेतासँग छलफल गरेका ओलीले त्यसपछिको दोस्रो चरणमा भने महसचिव विष्णु पौडेलसँग छलफल गर्नुभएको थियो ।

गत बैशाखदेखि पार्टीमा उत्पन्न विवादलाई पाँच महिनाको भगिरथ प्रयत्नबाट समाधानमा लगिएपछि सरकारका बसेर जनताको सेवा गर्ने संकल्प बोक्नुभएका पार्टीका महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको पार्टी फुटाएर अगाडि जाने मार्गचित्र सुनेपछि आत्तिनु भयो र उहाँले देशभरका नेताकार्यकर्तालाई शीर्ष नेता तथा अध्यक्षद्धयमाथि दबाव दिन सामाजिक सञ्जालमा पार्टी एकता गम्भीर संकटमा परेको आशयसहितको स्टाटस लेख्नुभयो ।

हुन त पुरानो नेकपा एमाले ब्युताउनका लागि प्रधानमन्त्री ओलीले धेरै अगाडि देखि नै गृहकार्य गर्दै आउनुभएको छ । गत बैशाखबाट पार्टीमा विवाद उत्पन्न भएको स्थितिलाई मध्यनजर गरेर उहाँले आषाढ महिनामा निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता गराउनुभएको थियो । यसले नेकपाका एकथरी कार्यकर्तालाई त्यतिबेलादेखि नै प्रधानमन्त्री पाटी विभाजना गर्न अग्रसर हुनुहुन्छ भन्ने सन्देश दिएको थियो ।

बालुवाटारमा शनिबार केपी ओली र प्रचण्डसँग भेटवार्ता भएकै दिन प्रधानमन्त्रीका सल्लाहकारहरुसहित केही नेताहरु पुराना नेता प्रदीप नेपालको गोठाटारस्थित घरमा पुगेका जानुभएको थियो । प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, डा. राजन भट्टराई र सूर्य थापाका साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेतको सहभागिता रहेको सो टिमले पूर्वमाओवादीसँग सँगै हिँड्न नसकिने अवस्था आएकोले पूर्वएमालेहरुलाई मिलाउने भूमिका खेलिदिन प्रदीप नेपालसँग आग्रह गरेको थियो ।

खासगरी माधव नेपाल र केपी ओलीलाई एक ठाउँमा ल्याउनका लागि अग्रसर भैदिन गरिएको आग्रहलाई स्वास्थ्यका कारणले आफू खट्न नसक्ने जवाफ दिंदै नेता नेपालले महासचिव विष्णु पौडेल यसका लागि उपयुक्त हुने सुझाव दिनुभएको बताइन्छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर पूर्वएमाले नेताहरु एक ठाउँमा उभिनुपर्ने प्रस्ताव राख्नुभएको थियो । उहाँले पार्टीको नेतृत्व माओवादीको हातमा सुम्पन नसकिने बताउदै आउनुभएको पनि छ ।

विभाजनको संभावित परिदृश्य

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष के.पी.शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई आफ्नो क्षमता अनुसारको भाग लिएर पार्टीबाट अलग हुन चुनौती दिए पनि यो काम त्यति सहज भने छैन् ।

एकीकृत भैसकेको नेपालको कम्युनिष्ट शक्तिलाई विभाजित गरेको अपजस कसले लिने भन्ने प्रश्न यससंग जोडिएको छ ।

वर्तमान संविधान र राजनीतिक दल दर्तासम्बन्धी ऐनले राजनीतिक दल केन्द्रीय समिति र संसदीय दलमा विभाजित भएर अलग अलग अस्तित्वमा निर्वाचन आयोगमा दर्ता हुन पाउने व्यवस्था गरेका छन् ।

नेकपाको संसदीय दलमा विभाजन ल्याउनको लागि कि पार्टीको केन्द्रिय कार्यसमिति वा स्थायी समितिले संसदीय दललाई ध्रुवीकृत गरी विभाजन गर्ने खालको निर्णय गरी सोको पालना गर्न निर्देशन दिनुपर्ने हुन्छ कि संसदमा हुने कुनै मतदानमा संसदीय दलमा दुईधार देखा पर्नुपर्ने हुन्छ र दलले लगाएको ह्वीप उल्लंघन भएमा तिनीहरुमाथि कारबाही चलाउदा स्वतः विभाजनको परिस्थिति निर्माण हुन्छ ।

यसमध्ये सहज उपाय नै संसदमा सरकारमाथि अविश्वासको प्रस्ताव हुन सक्ने देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय अगाडिदेखि संसदको विशेष अधिवेशन बोलाउने कुरा उठाउदै आएको छ । कांग्रेस र मधेशवादी राजनीतिक दलहरु मिलेर अविश्वासको प्रस्ताव ल्याएमा सत्तापक्षले सरकारको पक्षमा मत हाल्न ह्वीप लगाउनु पर्दछ । कुनै पनि प्रभावकारी र जनमुखी काम गर्न नसकेको वर्तमान सरकारका पक्षमा मत हाल्न प्रचण्डको धुरीमा जम्मा भएका नेकपाका सांसदहरु तयार हुने छैनन् । ह्वीप उल्लंघन गरेको बाहानामा सरकारलाई साथ नदिने सांसदहरुलाई पार्टीबाट निस्कासन गर्ने अवस्था आउछ र त्यसले स्वतः अर्को पार्टी गठन गर्ने अवस्था सिर्जना गर्दछ ।

हुन त गत आषाढ र साउन महिनामा स्थायी समितिको बैठकले प्रधानमन्त्रीमाथि दवाव सिर्जना गरेजस्तै गरी स्थायी समिति वा केन्द्रीय समितिको बैठक बोलाएर प्रधानमन्त्रीलाई पार्टीको निर्देशन नमानेको आरोप लगाउदै संसदीय दलमा बहुमत सिद्ध गर्न निर्देशन दिने वा संसदीय दलको नेताबाट हटाउने वा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेमा पनि यो पार्टी विभाजन हुन सक्छ ।

२०५८ सालमा राजा ज्ञानेन्द्रको समयमा संकटकाल थप्ने विषयमा पार्टीको निर्देशन नमानेर आफूखुसी संकटकाल थपेको आरोपमा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीले अनुशासनको कारवाही गरी पाटीबाट निष्कासन गर्दा बाध्यभएर देवाले अर्को पार्टी खोलेपछि कांग्रेस विभाजित हुन पुगेको थियो । नेकपा पनि त्यहि मार्गबाट विभाजित पनि हुन सक्छ ।

यसरी विभाजित भएपछि विभाजित दलको आकार कत्रो हुन्छ त्यसले भावि सत्ता समिकरण तय गर्नेछ । त्यसपछि विभाजित नेकपा, नेपाली कांग्रेस र मधेशवादी दलको सरकार बन्न पनि सक्नेछ । कम्तिमा भारतसंग बिग्रेको सम्बन्ध सुधार र अमेरिकासंगको संम्बन्ध सुधारको लागि एमसीसी संझौता पारित गर्न यो समीकरण फलदायी हुने देखिन्छ ।

Share Now

Leave a comment.