Prakash Adhikari January 31, 2018

काठमाडौं, १७ माघ । गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)ले पर्यटन क्षेत्रका विभिन्न संघसंस्थामा हालै सम्पन्न निर्वाचनमा विजयी भएका र नेपाल सरकारले विभिन्न संस्थाको जिम्मेवारी प्रदान गरेका व्यवसायीहरुलाई मंगलबार सम्मान गरेको छ ।

बधाई तथा सम्मान कार्यक्रममा राष्टिय योजना आयोगका पूर्वसदस्य डा.गणेश गुरुङले पर्यटन क्षेत्रको विकासका लागि यस क्षेत्रका व्यवसायी, नीति निर्माता र बुद्धिजीवि सबैको सहकार्य अत्यावश्यक भएको बताए ।

कार्यक्रमा पर्यटन बोर्ड सञ्चालक समितिका नवनियुक्त सदस्य दीपक महतले पर्यटन क्षेत्र अपार संभावनायुक्त क्षेत्र भएको र नेपालको विकासको लागि यो क्षेत्रको सुनियोजित विकास अपरिहार्य भएकोले सो संभावना दोहन गर्नका लागि पर्यटन बोर्ड लागिरहने बताए ।

कार्यक्रममा जिटिनका अध्यक्ष कमला गुरुङ, टानका अध्यक्ष नवराज दाहाल, नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाई लगायतले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पूर्वाधार विकासमा सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिएका थिए ।

सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए), टे्किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नाटा, नारा, पाटा, एनटिभिए, टुर्गान, मगर सोसाईटी, पर्यटन पत्रकार संघ लगायत पर्यटनसंग सम्बन्धित विभिन्न संघ संस्थाका नव निर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य, मनोनित सल्लाहकारलाई बधाई तथा सम्मान गरीएको थियो ।

कार्यक्रममा सार्वजनिक निजी साझेदारी अन्तरगत पर्यटन क्षेत्रको विकास गर्न गठन गरिएको अत्यन्त प्रभावकारी तथा महत्वपूर्ण संस्था नेपाल पर्यटन बोर्डमा हालै मात्र नेपाल सरकारले मनोनित गरेका पर्यटन व्यवसायी दीपक महत, कृष्णबहादुर महरा, अवधेश दासलाई पनि सम्मान गरिएको थियो ।

Share Now

Leave a comment.