काठमाडौं, २५ मंसिर । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका पुरुष तथा महिला खेलाडीको तलब बढाएको छ।
अबदेखि पुरुष तथा महिला राष्ट्रिय फुटबल टोलीका सबै सदस्यले बराबरी तलब पाउने छन्। बढेको तलबमान अनुसार राष्ट्रिय फुटबल टोलीका सदस्यले मासिक १८ हजार रुपैयाँ तलब पाउनेछन् ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फाको कार्यसमितिको बैठकले महिला खेलाडीको तलब ५० प्रतिशत भन्दा बढी बढाएको हो । अब महिला र पुरुष दुवै खेलाडीले मासिक रुपमा समान १८ हजार रुपैंया पाउनेछन् ।
राष्ट्रिय टोलीका पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले ७ हजार रुपैंया तलब पाउँदै आएका थिए । एन्फा कार्यसमिति बैठकमा विधान संशोधन, खेलाडी दर्ता नियमावली संशोधन, एन्फा अन्तर्गतका विभिन्न रंगशालाहरुमा फ्लड लाइट जडान, प्रदेश फुटबल समिति गठन, प्रदेश तथा जिल्लामा पूर्वाधार निर्माण लगायतका विषयमा छलफल भएको थियो ।
यसअघि भर्चुअल रुपमा बसेको एन्फा बैठकले वार्षिक साधारणसभा, विश्वकप फुटबल छनोटको तयारी, प्रतियोगिताहरु सञ्चालन लगायतका विभिन्न विषयमा छलफल भएको थियो ।


















