Prakash Adhikari February 1, 2018

हेटौंडा(मकवानपुर),१८ माघ । ३नं प्रदेशको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा सहभागी हुन हेटौंडामा १ सय १० जना प्रदेश सभा सदस्य भेला भइसकेका छन् ।

क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभा स्थललाई बैठक सञ्चालन योग्य बनाउन कर्मचारी र कामदार युद्धस्तरमा खटिइरहेका छन् ।

प्रदेश प्रमुखले बुधबार बोलाएको सर्बदलीय बैठकले आज प्रस्तुत हुने विषयको कार्यसूची निर्धारण गरिसकेको छ ।

प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न बुधबार साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ ।

सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गरेको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गर्नेछन् ।

यसैगरी सोही सर्वदलीय बैठकले बिहीबार १८ गते बस्ने प्रदेशसभाको ऐतिहासिक अधिवेशनमा सात वटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूची तयार गरिएको छ ।

सोही सर्वदलीय बैठकले प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यहरुको तर्फबाट सदस्य मनोनित गर्ने निर्णय गरेको छ ।

यसैगरी उक्त बैठकले प्रदेशसभाको अधिवेशनमा अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सोही बैठकले प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते निर्वाचनको मिति तोक्न बिहिबार बस्ने प्रदेशसभाको अधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने ३ नं प्रदेशसभा सदस्य डोरमणि पौडेलले जानकारी दिए ।

Share Now

Leave a comment.