
काठमाडौं, १७ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गर्नुभएको छ ।
शुक्रबार राजधानीमा निकालीएको विरोध र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले सरकारलाई चेतावनी दिंदै भन्नुभयो, ‘सर्वपक्षीय सम्मेलनबाट हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना नगरिए सडक आन्दोलनका माध्यम स्थापना गरिनेछ ।
उहाँले राजतन्त्र र हिन्दु राष्ट्रको विषय राष्ट्रिय एजेण्डा बनेको उल्लेख गर्दै भन्नुभयो, ‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।’
प्रधानमन्त्री र राष्ट्रपतिलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले भन्नुभयो, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’
संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको भन्दै राप्रपा अध्यक्ष थापाले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने जोखिम औल्याउनुभयो ।
राजसंस्था नहुँदा देश अभिभावकबिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको बताउदै थापाले भन्नुभयो, ‘केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबाट हवाइजहाज चार्टर गरेर केही मानिसहरु आए । ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणमा गरिएको हेलचक्रयाई लगायतका विषयलाई लिएर प्रदर्शन गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपदेखि सुरु भएको प्रदर्शन रत्नपार्क शान्तिवाटिकामा पुगी आमसभामा परिणट भएर टुंगिएको थियो ।